नवलपरासी। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन्।
नवलपुरको कावासोतीमा आईतवार आयोजित एक अन्तरसंवादमा उनले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेकामा जोड दिए। डा. भट्टराईले भने, ‘अर्थतन्त्रको अवस्था सुधार्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ। त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन। अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन। त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ।’
अहिलेको व्यवस्थामा छ/छ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने उनको भनाइ छ।
‘सरकार छ/छ महिनामा फेरिएका छन्। त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन। त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुने गरी सुधार आवश्यक छ,’ डा भट्टराईको भनाइ थियो। यस्तै, भ्रष्ट्राचार नियन्त्रणका लागि संसदप्रति उत्तरदायी हुने अधिकार सम्पन्न जनलोकपाल निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।





















