चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १४ बरौजीमा रहेको चौधरी टोलका २४ वर्षीय निर्मल कुमार महतोले आफ्नै कोठामा मृत फेला परेका छन् । बैशाख बिहीबार २७ गते बिहान ९ बजेतिरको समयमा उनी आफैँ सुत्ने कोठाको पंखामा भुण्डिएको अवस्थामा फेला परेका हुन्।
अघिल्लो दिन अर्थात् बुधबार साँझ सँगै खाना खाएर सुतेको छोराले भोलिपल्ट बिहान अबेरसम्म ढोका नखोलेपछि निर्मलका बाबु गौरीमान महतोले ढोका ढकढक्याएआ थिए तर निर्मलले ढोका नखोलेपछी गौरीमानले अत्तालिएर परिवारका अन्य सदस्यलाई बोलाउँदै ढोका फोडिदिए। भित्र जाँदा छोरा निर्मल मृत अवस्थामा भेटिए। छोराले किन आत्माहत्या गर्यो भन्ने परिवारले अहिलेसम्म् पाउन सकेका छैनन्।
यद्यपि, शंकाक भने निर्मलले केही समय अघिसम्म काम गर्दै आएको सनराइज सहकारी संस्थातिर तेर्सिएको छ। विगत ३/४ बर्ष अघि देखि नै उक्त सहकारीमा काम गर्दै आएका निर्मल पूर्व कर्मचारी हुन्। सहकारीमा समस्या देखिन थालेपछि उनले जागिर छाडेका थिए।
बर्दिया गुलरिया–५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरी भरतपुर महानगरपालिका–३ लायन्स चोकमा कार्यालय राखेर ०७४ देखि सञ्चालनमा रहेको यो संस्थाले अन्य दुई ठाउँ चनौली र विकास चोकमा पनि सेवा केन्द्र खोलेको थियो।
बचतकर्ताहरूको रकम सहकारीले फिर्ता दिन नसकेपछि आन्दोलित भएका हरूले निर्मललाई पनि उत्तिकै तनाव दिने गरेको पारिवारिक स्रोत बताउँछ। उनकै नजिकका नातेदारहरूको समेत बचत रहेको कारण निर्मल आफैँ चिन्तामा थिए। सहकारीकै कारण निर्मलले आत्माहत्याको बाटो रोजेको हुन सक्ने शंका परिवारले गरेका छन्।
यता महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए ।‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं । सबै खाले अनुसन्धान अगाडि बढ्दै जाँदा तथ्य कुरा खुल्ला,’ रिजालले भने ।





















