काठमाण्डौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा इमर्जेन्सीमा आएका बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्यूटीमा रहेका चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पताल तोडफोड गरेका छन्। काठमाडौं बत्तीस पुतलीका ६२ वर्षीय पुरुषको इमर्जेन्सीमा उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् ।
पेट दुखेको भन्दै सोमबार दिउँसो सवा ४ बजे बिरामीलाई अस्पताल ल्याइएको थियो । एक चिकित्सकका अनुसार उपचार प्रक्रिया सुरु गर्दागर्दै एक्कासी बिरामीको अवस्था बिग्रिदै गयो । चिकित्सक, स्वास्थ्यकर्मीले सीपीआर दिएर बिरामीलाई बचाउने प्रयास गरेका थिए ।
चिकित्सकले प्रयास गर्दागर्दै ७ः२२ बजेतिर बिरामीको मृत्यु भएको घोषणा गरिएको अस्पतालका चिकित्सकले जानकारी दिए । ती चिकित्सकका अनुसार राति ८ बजे बिरामीका आफन्तहरू भेला भएर अस्पताल तोडफोड र डाक्टरमाथि हातपात गरेका थिए । इमर्जेन्सी विभागकी प्रमुख प्रा.डा.विनिता प्रधान र इमर्जेन्सीमै ड्यूटीमा रहेकी अर्की एक डाक्टरलाई समेत बिरामीका आफन्तले हातपात गरेका थिए ।
डा. प्रधानको टाउको र शरीरका विभिन्न भागमा प्रहार गरिएको छ । आक्रोशित भीडले इमर्जेन्सीको काउन्टर र झ्यालका सिसा समेत फुटाएका छन्। बिरामीका आफन्तले भने उपचारमा लापरवाही गर्दा बिरामीको ज्यान गएको आरोप लगाएका छन् । सीपीआर दिने क्रममा कोही चिकित्सक नआएको, गार्ड र नर्सहरू मात्रै रहेको आरोप बिरामीका आफन्तले लगाएका छन् ।
बिरामीको उपचारमा महिला डाक्टर खटिएकाले उनीहरुलाई नर्स भन्ने ठानेर डाक्टरले नहेरेको आरोप लागाएको अस्पतालका चिकित्सकले बताएका छन् ।





















