भरतपुर – भरतपुर महानगरले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट करिब १७ हजार जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । महानगरले शुक्रबार तथ्याङ्क सार्वजनिक गर्दै गत वर्ष मंसिर २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन गरेको कार्यक्रममा ६८ वर्ष माथिका १६ हजार नौ सय ७१ जना जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएकोे हो ।
भरतपुर महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले सात हजार पाँच सय ६० जना महिला र नौ हजार चार सय ११ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो । मेयर स्वास्थ्य कार्यक्रममा नसर्ने रोग सामान्य शारीरिक परीक्षण, बडी मास इन्डेक्स (उचाई र तौल), रक्तचाप, मधुमेह परीक्षण र आवश्यकता अनुसारका परामर्श सेवा दिइएको जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो ।
सो क्रममा संकलन गरिएको तथ्याङ्कमा ४४.३८ प्रतिशतमा उच्च रक्तचाप, मधुमेह १५ं.९, हाइपोथाइरोडिज्म ५.५८, बिपिएच १.२८, क्यान्सर ०.४, दम ८.३४, कार्डियोभास्कुलर सम्बन्धी रोग ६.१, मृगौलासम्बन्धी ०.७५ प्रतिशत रोग जेष्ठ नागरिकमा रहेको देखिएको उहाँले बताउनुभयो । ती मध्ये ५७.५ प्रतिशतले नियमित रुपमा औषधी खाने गरेका छन् । स्वास्थ्य परीक्षणका क्रममा ६० प्रतिशतभन्दा बढीमा कुनै न कुनै रोग भएको समेत तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क सार्वजनिक कार्यक्रममा भरतपुर महानगरका विज्ञ चिकित्सक डा.भोजराज अधिकारीले मेयर स्वास्थ्य कार्यक्रम प्रभावकारी बनेको दाबी गर्नुभयो । ‘अस्पताल आउने बिरामी ५÷१० प्रतिशत मात्रै छन् अझै पनि ९० प्रतिशत बिरामी घरघरमा हुन्छन् त्यस्तो अवस्थामा घरमै गएर उहाँहरुको समस्या बुझ्नु भनेको महानगरको महत्वपूर्ण अभियान हो ।’ उहाँले भन्नुभयो । बिरामीको समस्या बुझ्न घरघरमै गएजस्तै उपचारको लागि महानगरका २९ वटै वडाका स्वास्थ्यका एकाईहरुलाई स्वास्थ्यको नेर्टवर्कसँग जोडेर जनतालाई अस्पताल आउन नसक्दा सामान्य उपचार दिने पद्धतीमा काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटीको रुपमा विकास भएपनि जेष्ठ नागरिक स्वास्थ्य जाँचका लागि अस्पताल आउन नसकेको अवस्थामा महानगरले जनताको घरघरमा पुगेर स्वास्थ्य जाँच गरेको उल्लेख गर्नुभयो । स्वास्थ्य जाँचबाट जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाको विवरण प्राप्त भएको उल्लेख गर्दै औषधी उपचारको कार्यक्रमलाई पनि जोड्दै जाने उहाँले उल्लेख गर्नुभयो ।
नागरिकलाई स्थानीय सरकारको महसुस गराउन कार्यक्रम सफल भएको उहाँको भनाइ थियो । आगामी नीति निर्माणमा सो कार्यक्रममा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले बताउनुभयो ।

महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख दिपक सुवेदीले आगामी कार्ययोजना अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गर्ने, बिरामीसँग नियमित फलोअप गर्ने र मानसिक स्वास्थ्य परामर्श लगायतका विविध कार्यक्रम समेत सञ्चालन गर्ने बताउनुभयो ।






















