चितवन । भरतपुर अस्पतालले आफ्नो ६८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईरहेको छ । यसै सन्दर्भमा शुक्रबार अस्पतालको बृद्धबृद्धा वार्डमा रहेका बिरामीहरुलाई पौष्टिक आहार तथा सरसफाई सामग्री वितरण गरिएको हो ।
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार बृद्धबृद्धा वार्डमा रहेका २० जना बिरामीलाई हर्लिक्स, साबुन, काईनो, नङ्कटर, पेष्ट, ब्रस लगायतका सामग्री वितरण गरिएको छ ।
कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारी, मेडिसिन विभागका विभागीय प्रमुख डा.प्रकाश खतिवडा लगायत उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा डा. खतिवडाले बृद्धबृद्धाहरुलाई सरसफाईमा बानी पार्नका लागि यस्ता सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले सामान्य सरसफाईमा ध्यान पु¥याउन नसक्दा समेत कतिपय रोग लाग्ने हुँदा नियमित सरसफाईमा ध्यान दिन समेत सुझाव दिनुभयो ।

संयोजक पौडेलले बृद्धबृद्धाहरुलाई अस्पतालमा पौष्टिक आहार र सरसफाईका सामग्री वितरण गर्न पाउँदा आफूलाई खुशी लागेको भन्दै यस्ता कार्यक्रमले सेवाग्राही र अस्पतालका चिकित्सक कर्मचारीबीचको आत्मियता बढाउने बताउनुभयो ।
अस्पतालको सौन्दर्यकरण तथा सरसफाई उपसमितिका संयोजक समेत रहनु भएका पौडेलले वार्षिकोत्सवको अवसरमा शनिबार साँझ आकस्मिक भवन अगाडि मैनबत्ती बाल्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले अस्पताल परिसरमा सरसफाई, हरियाली र बगैंचालाई सुन्दर बनाउने काम भईरहेको भन्दै वार्षिकोत्सवका अवसरमा अझै बढी सक्रियताका साथ यी काम भईरहेको बताउनुभयो । सरसफाई र सन्दर्यकरणका काम निरन्तर चलिरहने उहाँको भनाई थियो ।
भरतपुर अस्पतालले वार्षिकोत्सवका अवसरमा खेलकुद, निःशुल्क स्वास्थ्य शिविर , रक्तदान लगायतका विविध कार्यक्रम नियमित गर्दै आईरहेको छ ।
























