चितवन – बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो । प्रधानमन्त्री प्रचण्डद्वारा हुने प्रतियोगिताको उद्घाटन चितवन भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ ।
भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । प्रतियोगितामा समावेश गरिएका नौ खेलमध्ये पुरुष फुटबल मकवानपुरको गैरीटार रङ्गशालामा हुनेछ भने अन्य खेल भरतपुरमा हुनेछन् । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।
परिषद्को सदस्य सचिवको अध्यक्षतामा कार्यकारी समिति तथा विभिन्न पाँच उपसमिति र नौ प्राविधिक समिति गठन गरिएको छ । खेलमा एथलेटिक्स, भलिबल, महिला फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन, पुरुष क्रिकेट र पुरुष फुटबल समावेश छन् । भरतपुरको चित्रवन रङ्गशालामा एथलेटिक्सका खेल हुनेछन् भने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुरुष र महिला क्रिकेट, भरतपुरको गेष्ट हाउस चौरमा भलिबल, बखत स्मृति रङ्गशाला महिला फुटबल, चितवन औद्योगिक प्रदर्शनी केन्द्रको हलमा कराते, बक्सिङ र तेक्वान्दो, भरतपुरको हवेलीमा पौडी, भरतपुर कभर्ड हलमा ब्याडमिन्टन, गौरीटार रङ्गशाला हेटौँडामा पुरुष फुटबल प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्य पदकका लागि सात प्रदेशका एक हजार पाँच सय ४७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको समापन आगामी वैशाख १ गते मकवनपुरको गौरीटार रङ्गशालामा हुनेछ ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।





















