काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताएका छन् । काठमाडौं जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताए । उनले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताए ।
“हामीले सरकारमा रहँदा निरपेक्ष गरिबीको रेखालाई १७ प्रतिशतमा झारेका थियौँ । तर अहिले त्यो बढेर फेरि २०.२६ प्रतिशतमा पुगेको छ । त्यसलाई घटाउनु छ । शून्यमा झार्नु छ,” उनले भने ।
अध्यक्ष ओलीले एमाले देश बनाउने सङ्कल्प बोकेर हिँडेको पार्टी भएको धारणा राखे । उनले आगामी निर्वाचनमा काठमाडौंमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताए । “पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्यो ।
काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ यो स्थितिलाई अनिवार्य बदल्नै पर्छ”, उनले भने, “एमालेलाई काठमाडौंमा यो अवस्था कुनै हालतमा स्वीकार्य छैन । एमालेले काम गरेर देखाएको हिसाबले पनि जुन परिमाण आएको छ । त्यो पीडादायी रहेको छ ।”
उनले आगामी निर्वाचनमा काठमाडौंमा एमालेले ९० प्रतिशत मत ल्याउनुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीका पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न कार्यकर्तालाई आग्रह गरे । “पार्टीका पक्षमा बोल्नुपर्यो । विपक्षीले लगाएका झुठो आरोपको खण्डन गर्नुपर्यो ।
यो झुठो हो भनेर सामाजिक सञ्जालमा किन टिप्पणी लेख्दैनाैँ”, उनले भने । अध्यक्ष ओलीले नेपाललाई समृद्ध र सुशासनयुक्त बनाउन खोजेको बताए ।





















