काठमाडौं / काठमाडौंको निजामति कर्मचारी अस्पतालका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
सम्पूर्ण कर्मचारीहरुको समस्याबारे पटकपटक व्यवस्थापनलाई जानकारी दिए पनि बेवास्ता गरिएकाले आन्दोलनमा उत्रिनु परेको निजामती कर्मचारी अस्पाताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए ।
कर्मचारीहरुले श्रमश्रोषण भएको, विनियमावाली गायब बनाइएको, करारका कर्माचारी सधैं करारमा राख्ने खेल भएको, सरकारले तोकेको न्यूनतम तलब नदिएको, ग्रेड नदिइएको, बढुवाको टुंगो नभएको, ग्रेड बापतको रकमबारे स्पष्ट नभएको तथा अडिट रिपोर्ट सार्वजनिक नगरिएकोले हामी आन्दोलन गर्न बाध्य भएका हौ धिमालले भने ।
‘कोरोना महामारीका समयमा हामी संवेदनशील छौं, उनले भने, तर अस्पताल व्यवस्थापनले हामीले राखेका मागलाई बेवास्था गर्दै आएको छ । सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको निजामती कर्मचारी अस्पतालका कर्मचारीको माग पूरा नहुँदा कर्मचारी पलायन हुने तथा असुरक्षित महसुस गर्ने गरेको कर्मचारीको गुनासो छ ।
कर्मचारीहरुले हिजो शुक्रबार अस्पतालको परिसरमा ब्यानरसहित धर्ना दिएका थिए । यस्तै, गत वुधबार सामान्य प्रशासन मन्त्रीलाई हृदयेश त्रिपाठीलाई भेटी आफ्ना माग राखेका थिए । मन्त्री त्रिपाठीसँग सरकारी कर्मचारी सरह तलब, ग्रेड तथा स्वास्थ्य बिमा सुविधाको व्यवस्था गरिनुपर्ने, अस्पतालको विनियमावलीमा रहेको विभेदकारी बढुवालाई संशोधन, करारका कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक स्थायीको मौका परीक्षामा सामेल गराउनु पर्ने लगाायतका माग राखेको निजामती अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए ।
























