काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै नेकपा एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ जसको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।
पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।
‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले भने, ‘मन्त्रालयको जिम्मेवारी वाँडफाँड भने सरकारमा सहभागी हुने दलको टुंगो लागे पछि मात्रै निष्कर्षमा पुग्ने कुरा छ ।
जसअनुसार एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको बाँकी मन्त्रालय नेकपा एसलगायतलाइ दिइने बताइएकाे छ ।





















