काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीको समेत स्वाब संकलन गरिएको थियो ।
कोरोना संक्रमण देखिएका मन्त्री यादव केही दिन अगाडि मात्रै प्रधानमन्त्री ओली समेत सहभागी प्रहरी समन्वय समितिको बैठकमा सहभागी थिए ।
प्रधानमन्त्रीसहित उनीसँग सम्पर्कमा आएका नेता, मन्त्री तथा सचिवालयका सदस्यहरुको समेत शुक्रबार नै कोरोना संक्रमण गरिएको थियो ।
शुक्रबार नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, संसदीय मामिला तथा कानून मन्त्री शिवमाया तुम्वाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।
स्वाब लिइएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।





















