चितवन / विगत १८ वर्षदेखि निरन्तर कार्यरत चितवन पोष्टकर्मी बबिलाल तामाङ लाई आज शुक्रबार सम्मान तथा विदाई गरिएको छ ।संस्थामा कार्यरत रहँदासम्म भौतिक र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान तथा विदाई गरेको संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताउनुभयो ।
तामाङ संस्थामा कार्यरत रहँदासम्म इमान्दार, कर्तव्यनिष्ट र संस्थाको लागि ठूलो योगदान गरेको उहाँको भनाइ थियो । कार्यक्रममा सम्मानित हुँदै तामाङले आफूले यो सम्मान तथा विदाईले भविष्यमा अझ बढी केही गर्ने प्रेरणा मिलेको बताउनुभयो ।
यस संस्थामा कार्यरत रहिरहँदा जुन किसिमको सम्मान र इज्जत पाएको छु त्यसलाई अझ दुई गुणा बढी गरेर देखाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कर्मचारीका तर्फबाट चितवन पोष्टका समाचार प्रमुख दिपेन्द्र अधिकारीले तामाङको जीवनमा अझ सफलता साथै दीर्घकालीन सफलताको कामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले तामाङलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने उहाँका सहकर्मी तथा कर्मचारी साथीहरुले संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको थियो ।
तामाङ न्यूजप्रवाह डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ चितवनका वर्तमान कार्यसमिति सदस्य समेत हुनुहुन्छ भने तामाङ पत्रकार संघ चितवनका उपाध्यक्ष समेत हुनुहुन्छ । तामाङ २०५९ साल कार्तिक ११ गते देखि निरन्तर २०७६ फागुन सम्म कार्यरत रहेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार सूर्यप्रकाश कंडेल, पूर्वी चितवन पत्रकार मंच रत्ननगरका अध्यक्ष होमनाथ सापकोटा, चितवन पोष्टका सहसम्पादक केशव भट्टराई, न्यूजप्रवाह डटकमका निर्देशक विक्रम गुरुङ, पत्रकारहरु तुलमान गुरुङ, किशोर खनाल, कुलप्रसाद काफ्ले, रामशरण गैरे, चितवन पोष्टकर्मीहरु दिलिप केसी, धु्रव मैनाली, सर्मिला खनाल, नमस्ते टिभीबाट सन्तोष तामाङ लगायतको उपस्थिति रहेको थियो ।





















