फोर–डि भिडियो एक्सरेको इमेज रेजुलेसन र भिडियो राम्रो हुने भएकाले सानो भन्दा सानो रोगहरु, हाम्रो शरीरमा असर पु-याउने सुक्ष्म कुराहरु राम्रोसँग हेर्न मिल्छ । जब राम्रोसँग देखिन्छ तब मात्र रोगको सही पहिचान हुन्छ । कुनै पनि रोगको राम्रोसँग पहिचान भइसकेपछि त्यसको उपचार सजिलो हुन्छ ।
फोर–डि भिडियो एक्सरेको इमेज, भिडियो क्वालिटी उच्च रेजुलेसनमा हुने भएकाले रोगहरु पत्ता लगाउन सहज हुन्छ । यसले कुनै पनि अङ्गलाई २४ वटा स्लाइसमा चिरा पारेर हेर्छ । हेरिसकेपछि कुनै पनि अङ्गमा सानो वा सुरुवात हुन लागेको रोगलाई पहिचान गर्न धेरै नै सहज हुन्छ । यसले कुनै पनि अङ्गलाई तीन वटा कोण (XYZ) बाट हेरिसकेपछि शरीरमा भएको रोगहरु नदेखिने होकि भन्ने चिन्ता हुँदैन ।
फोर–ड भिडियो एक्सरेको अझ महत्वपूर्ण भूमिका एनोमोली स्क्यान (Anomaly Scan) पनि हुन्छ । एनोमोली स्क्यान गर्भवती भएको पाँच महिना पुगेपछि बच्चाको शारीरिक अवस्था हेर्ने एउटा जाँच हो । यसबाट बच्चाको शारीरिक वृद्धि विकासको अवस्था, केही खराबी छ कि छैन ? लगायतका सम्पूर्ण जाँचहरु गर्न मिल्छ ।
फोर–डि भिडियो एक्सरेमा एनोलोमी स्क्यान गर्दा पेटभित्रको बच्चा भोली जन्मँदा जस्तो देखिन्छ उस्तै दुरुस्तै हेर्न मिल्छ । फोर–डि अल्ट्रासाउण्ड मेसिनको अर्को विशेषता थाइराईडमा पलाएको गिर्खामा क्यान्सर छ कि छैन ? भन्ने धेरैको चासोको विषय हुन्छ, यस्तो कुरा सुई नलगाइकन पानी नतानिकन पनि पहिचान गर्न सकिन्छ ।
भिडियो एक्सरेका फाइदाहरु
भिडियो एक्सरे खुट्टादेखि टाउकोसम्म सम्पूर्ण अङ्गहरुको गर्न सकिन्छ । हाम्रो शरीरको बाहिरी वा भित्री भागमा गिर्खा पलाएको छ भने त्यो गिर्खा कस्तो छ ? त्यसमा क्यान्सर छ कि छैन ? भन्ने धेरैलाई चासोको विषय हुन्छ । जुन कुरा भिडियो एक्सरेबाट सजिलै छुट्याउन सकिन्छ । त्यस्तै मृगौलामा पथ्थरी छ भने कस्तो अवस्थामा छ ? मृगौलालाई कत्तिको असर गरेको छ ? अनि मुत्रनली, पिसाबथैलीतर्फ पथ्थरी पुगेको छ, छैन ? जस्ता सम्पूर्ण कुराहरु भिडियो एक्सरे मार्फत हेर्न सकिन्छ ।
त्यसैगरी पित्तथैलीमा परेको पथ्थरी, मासु पलाएको, सुन्निएको सबै जाँच गर्न मिल्छ । मदिरा सेवन गरिरहेका धेरैजसो मानिसहरुलाई कलेजो कत्तिको बिग्रियो भनेर चासो व्यक्त गरेको पाइन्छ । त्यो पनि भिडियो एक्सरेमार्फत कुन ग्रेड (लेभल) मा बिग्रेको छ ? भनेर सबैकुराको जानकारी लिन सकिन्छ ।
त्यस्तै पुरुषहरुमा हुन प्रोस्टेट ग्रन्थीको समस्यामा साइज हेर्न मिल्छ । यस्तै पोस्टेट ग्रन्थीले कत्तिको पिसाब रोकिएको छ ? यो ग्रन्थी बढेर कति असर गरेको छ ? क्यान्सर भएको छ छैन ? भन्ने विविध समस्याहरु सबै कुरा भिडियो एक्सरे मार्फत् हेर्न मिल्छ ।
त्यसैगरी महिलाहरुको पाठेघरमा मासु पलाएको, इन्फेक्सन भएको, पाठेघरको मुखको क्यान्सर भएको, डिम्बनलीमा सिस्टको समस्या सबै कुरा भिडियो एक्सरे मार्फत छुट्टाउन सक्छौं, ताकी कन्सल्टेन्ट डाक्टरहरुले यहिँ रिपोर्टहरुलाई आधार मानेर उपचार गर्न सहज हुन्छ । त्यसैगरी खुट्टामा, शरीरमा भएका नसामा रगत कसरी बगेको छ ? नसाहरु साँघुरो भएको छ कि छैन ? ब्लकेज भएको छ कि छैन ? ब्लड जमेको छ कि छैन ? यी सबै कुराहरु पनि भिडियो एक्सरेमार्फत हेर्न सकिन्छ ।
हाम्रो पेटमा भएको आन्द्राहरुको समस्या, आन्द्रामा हुने क्यान्सर, सुन्निने समस्या यी सबै कुराहरु भिडियो एक्सरे मार्फत हेर्न सकिन्छ । अर्को महत्वपूर्ण कुरा घाँटीको नसाहरुको जाँच, बच्चा बढिरहेको अवस्थामा बच्चाको शारीरिक विकास राम्रोसँग भएन भने त्यो पनि भिडियो एक्सरे मार्फत हेर्न सकिन्छ ।
गर्भावस्थाको समयमा बच्चा पाठेघरमा छ कि छैन ? देखि लिएर बच्चा हुर्कर्दै गर्दा बच्चा जन्मने बेलासम्म बच्चाको सम्पूर्ण कुराहरु वृद्धिविकास्, शारीरिक अवस्था, सालनालको अवस्था, मुख खुलेको छ कि छैनदेखि यावत कुराहरु बच्चा सुल्टो, उल्टो कुन अवस्थामा छ बच्चाको तौल सबै कुराहरु भिडियो एक्सरे मार्फत हेर्न सक्छौं ।
त्यसैगरी फोक्सोमा पानी जमेको छ कि छैन ? फोक्सोको अवस्था कस्तो छ ? भन्ने कुरा पनि हेर्न सक्छौं । भिडियो एक्सरेको महत्वपूर्ण भूमिका इन्टरभेन्सन रेडियोलोजिमा पनि हुन्छ ।
सस्तो र रोगहरु पत्ता लगाउन सजिलो र जुनसुकै ठाउँमा पनि उपलब्ध भएकोले स्वास्थ्य क्षेत्रमा भिडियो एक्सरेले महत्वपूर्ण भूमिका खेलेको छ । फोर–डि (4-D) भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मौलाकालिका अस्पतालमा विगत पाँच वर्षदेखि गरिरहेका छौं ।
(मौलाकालिका अस्पताल भरतपुरका सिनियर कन्सल्टेन्ट रेडियोलोजिष्ट डा .घिमिरेसँग लागि गरिएको कुराकानीमा आधारित)





















