चितवन – भरतपुरमा रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाईएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रुपमा घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्ने तयारी गरिएको हो ।
विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन् । केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तारको गृहकार्य अघि बढाईएको हो ।
घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षा मन्त्री पूर्णबहादुर खड्का सहित नेपाली सेनाका प्रधानसेनापति लगायत सरोकारवाला निकायका सबै सकारात्मक देखिएसँगै काम अघि बढ्ने भएको छ ।
विमानस्थल विस्तारको विकल्प नदेखिएपछि भरतपुर महानगरपालिकाले विस्तारको पहल गर्दै आएको छ । अघिल्लो कार्यकालको शुरुवातीदेखि नै विमानस्थल विस्तारका लागि जुट्नु भएकी भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार घोडा प्रजनन् केन्द्र सारेर धावन मार्ग विस्तार गर्ने सहमति भईसकेको छ । मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लैजान प्रधानमन्त्री दाहालले निर्देशन दिईसक्नु भएको छ ।
रक्षा मन्त्रालयले यो प्रस्ताव पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएर त्यहाँबाट मन्त्रीपरिषद्मा पेश गरेसँगै निर्णय भएर अघि बढ्ने प्रमुख दाहालले जानकारी दिनुभयो । आफू प्रमुख भएसँगै सबै पर्यटन र रक्षा मन्त्रीसहित नेपाली सेनाका प्रधान सेनापतिसँग निरन्तरको आग्रहपछि यो विकल्पमा पुगेको उहाँले बताउनुभयो ।
अहिलेको यो विमानस्थल निकै जोखिमपूर्ण मानिन्छ । यसलाई तराईको लुक्ला भनेर पनि चिन्ने गरिन्छ । प्रमुख दाहालका अनुसार विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार ५०० मिटर बनाईदै छ । अहिले एक हजार २०० मिटर मात्रै लामो छ । यससँगै ७२ सिट क्षमताका ठूला जहाज रात्रीकालिन समेत उडान गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
गएको शनिबार भरतपुरको श्री नयाँ सबुज गणमा भएको कार्यक्रममा रक्षा मन्त्री पूर्णबहादुर खड्काले व्यारेकमा रहेको ७० विगाहा ८ कठ्ठा चार धुर जग्गा मध्ये १९ विगाहा चार कठ्ठा चार धुर विमानस्थल विस्तारका लागि दिनुपर्ने देखिएको बताउनु भएको थियो । यससँगै यहाँको घोडा प्रजनन् केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोर स्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उहाँले बताउनु भएको थियो ।
घोडा प्रजनन् केन्द्र हेर्दै आएका नेपाली सेनाका विज्ञहरुले अहिलेको ठाउँ कोलाहालपूर्ण भएकाले घोडाको प्रजनन्मा समस्या आउन सक्ने बताएका थिए । यससँगै जहाजको अवतरण र उडान क्षेत्रमा प्रजनन् केन्द्र हुँदा त्यहाँ घोडालाई खुवाईने आहारा खान चिल लगायतका पंक्षीहरु आउने र यो जहाजका लागि जोखिम हुने विषय पनि औल्याईएको थियो ।
यससँगै घोडा भएको ठाउँमा मुसा हुने र यसले धावनमार्ग मुनि खोल्न सक्ने समेत जोखिम देखिएकाले प्रजनन् केन्द्र शान्त ठाउँमा सारेर विमानस्थल विस्तार गर्न उपयुक्त हुने नेपाली सेनाका उच्च अधिकारीहरुले बताउनु भएको थियो ।
सोही अवसरमा रक्षा मन्त्री खड्काले स्थलगत निरीक्षण गरी प्रजनन् केन्द्र सार्ने विषयमा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको थियो । उहाँ फर्किएसँगै प्रधानमन्त्री दाहालसँग सरोकारवाला सहितको बैठकले घोडा प्रजनन् केन्द्र सारेर विमानस्थल विस्तार गर्ने सहमति गरेको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
घोडा प्रजनन् केन्द्र पहिलो र एकमात्रै सरकारी प्रजनन् केन्द्र हो । यहाँ साना ठूला गरी हाल ११० वटा घोडा रहेका छन् । बि.सं. २०४१ सालबाट यो प्रजनन् केन्द्र सञ्चालनमा छ । यहाँ जन्मिएका घोडाका बच्चालाई सामान्य तालिम दिएर थप तालिमका लागि काठमाण्डौं पठाउने गरिन्छ । प्रजनन् केन्द्र सरेपनि सेनाको गण भने यही रहने छ ।
धावन मार्ग र सडकका लागि थप जग्गा दिने तयारी गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जग्गाको सुनिश्चितता भएसँगै धावनमार्ग विस्तारको काम अघि बढ्ने बताउनुभयो । नयाँ टर्मिनल भवन बन्दै गरेको भन्दै उहाँले विस्तारका लागि जग्गाको व्यवस्था भएसँगै धावनमार्ग विस्तारको काम तत्काल अघि बढाउने बताउनुभयो । चालु आर्थिक वर्षमा धावन मार्गका लागि कार्यक्रम समेत राखिएको उहाँले जानकारी दिनुभयो ।
यो विमानस्थल बि.सं. २०१५ सालमा स्थापना भएर बि.सं. २०१८ सालबाट सञ्चालन हुँदै आएको हो । विमानस्थलको हाल कुल क्षेत्रफल ६२ विघा रहेको छ । जसमा एक हजार २ सय मिटरमात्र धावनमार्ग छ । यो विमानस्थलबाट अहिले काठमाण्डौं र पोखरा उडान हुँदै आएको छ । छोटो धावन मार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महंगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।
घोडा प्रजनन् केन्द्र सारेर भरतपुर विमानस्थल विस्तार गरिंदै
घोडा प्रजनन् केन्द्र सारेर भरतपुर विमानस्थल विस्तार गरिंदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















