काठमाडौं / नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएपछि आज सभापति शेरबहादुर देउवाले छलफलका लागि आफू इतरका नेताहरू र पार्टी पदाधिकारीहरूलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाए ।
झण्डै तीन घण्टा चलेको छलफलमा देउवाले पौडेल पक्षले भने झैँ नै बैठकको एजेण्डा बनाएका थिए । १३ औँ महाधिवेशन सकिए लगत्तै गठन गर्नुपर्ने विभाग र समितिहरू अहिले आएर गठन गरेको भन्दै पौडेल समूहले विरोध गर्दै आइरहेको छ । आजको बैठकमा तय गरेका एजेण्डा अनुरूप क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजाने लगायत विषयमा छलफल भयो ।
छलफल भए अनुसार नै अब बस्ने केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता छानविन समिति गठन गर्नेछ । आजको बैठकमा सभापतिज्यूले नै तय गर्नुभएको र अरू नेताहरूले भने अनुसारकै क्रियाशील सदस्यता छानविन समिति गठन विषयमा केन्द्रित भयो, कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘यो कुरा अब बस्ने केन्द्रीय समितिमा पनि छलफल हुनेछ र सोही केन्द्रीय समितिको बैठकले छानविन समिति पनि गठन गर्ने छ ।’
उनले आजको बैठकमा क्रियाशिल सदस्यता छानविन समिति गठन गर्नका लागि सभापति देउवाले वरिष्ठ नेता पौडेलसँग नेताहरूको नाम पनि मागेका थिए । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गरेको भन्दै आपत्ति जनाएका थिए ।
फाईल फोटो





















