काठमाडौं। बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले यही पुस १३ गते लामिछाने बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो।
बुधवार ढकालकै इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो। साथै, उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश गरेको छ।
१६ महिनाअघि आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ढकालको इजलासले उनलाई कसुरदार ठहर गरेको थियो।
पीडितको बकपत्र तथा कसुर भएका दिनको क्रियाकलापको घटनाक्रमका आधारमा पीडितलाई प्रभावमा पारेर लामिछानेले बलात्कार गरेको फैसला अदालतले गरेको छ। लामिछानेलाई १० वर्षभन्दा कम सजाय तोकिएकाले उनले थुनाबाहिर रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन्।
६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।





















