काठमाडौं । तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले तीन करोड ३० लाख नेपाली रूपैयाँ बरामद गरेको छ। बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँ मात्र नभइ विदेशी मुद्रा पनि फेला पारेको जनाइएको छ। ब्युरो प्रमुख किरण ब्रजाचार्यका अनुसार तीन करोड तीस लाख ७५ हजार भेटिएको बताए।
उनले भने, सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन्।’
उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ। आज सम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्। प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो।
प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो।
अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइने भएको छ । सर्लाहीबाट उनलाई पक्राउ पुर्जी जारी भएकाले प्रहरीले त्यहाँ लैजान लागेको हो ।
सुरुमा उनीविरुद्ध सर्लाहीमा जाहेरी परेको थियो । उनलाई सर्लाहीकी रीता बोटलाई बेपत्ता बनाएको आरोप लागेको छ । रीता बाराको हल्खोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । २०७५ को पुसमा रीताकी आमाले किटानी जाहेरी दिएकी हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार पहिला सर्लाहीमा उपस्थित गराएपछि अन्य ठाउँका मुद्दातिर लागिने तयारी रहेको छ ।
बम्जनमाथि बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको आरोप रहेको छ ।





















