भरतपुर – उद्योग वाणिज्य संघ चितवनको आसन्न ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनमा वाणिज्यतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी स्टेशनरी व्यवसायी रजनी श्रेष्ठ मास्केले इतिहास रच्ने अवसर पाएकी छन् । संघको इतिहासमै पहिलोपटक मास्केले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।
‘उद्योग र व्यवसायको क्षेत्रमा महिला सहभागिता न्यून छ’ आफ्नो उम्मेदवारीबारे जानकारी दिन बिहीबार क्षेत्रपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मास्केले भनिन्, ‘यसमा सुधार ल्याउन जिल्लास्तरमा खेल्न सकिने भूमिका र केन्द्रमा गर्न सकिने पहलका लागि मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हूँ ।’

महिलाहरुलाई उद्यमी बनाएर आयआर्जनको बाटोमा अगाडि बढाउने उनको चाहना छ । त्यसका लागि आवश्यक तालिम, थोरै ब्याजमा बैंकबाट ऋणको व्यवस्था, महिला उद्यमीका उत्पादन बजारीकरणका लागि प्रभावकारी देखिएको कोसेली घरलाई अझ सशक्त बनाउने उनले बताइन् ।
‘२०६८–७० को कार्यसमितिमा मनोनित सदस्यका रुपमा प्रवेश गरेर संघलाई अगाडि बढाउन निरन्तर क्रियाशील रहेकी छु । यो १२ वर्षको अन्तरालमा संघले धेरै नेतृत्व पायो तर कुनै पनि नेतृत्वले महिलालाई महिलालाई अगाडि बढाउने सोच लिएन ।
फलस्वरुप ६ कार्यकालसम्म म कार्यसमिति सदस्यमै सीमित रहन बाध्य भएँ’ उपाध्यक्ष पदमा आफूले उम्मेदवारी दिनुको कारण प्रष्ट पार्दै उनले भनिन्, ‘यसभन्दा अघि ५६औं वार्षिक साधारणसभा तथा अधिवेशनमा नै उपाध्यक्ष हुने चाहना हुँदाहुँदै पनि विभिन्न कारणले त्यो चाहना पूरा हुन सकेन ।
यसपटक समग्र महिलाको प्रतिनिधित्व गर्दै संघकै इतिहासमा पहिलोपटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छु । मतदाता साथीहरुको माया, साथ र सद्भावले संघमा नयाँ इतिहास रच्न चाहन्छु ।’
संघको वर्तमान कार्यसमिति सदस्य मास्केद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । एकबिना अर्काको अस्तित्व रहन सक्दैन । त्यसैले सबै क्षेत्रमा सहकार्य आवश्यक छ । यही भावनालाई मूलमन्त्र बनाएर म सम्पूर्ण उद्योगी, व्यवसायीको हितमा काम गर्न चाहन्छु । संघको आगामी नेतृत्वलाई उपाध्यक्षको रुपमा दरिलो साथ दिन चाहन्छु ।’

कोभिड महामारी र रुस–युक्रेन युद्धको असरले अर्थतन्त्र थला परेको र यो समस्या समाधानमा आफूलाई समर्पित गर्दै सम्पूर्ण उद्योगी, व्यवसायीको हक, अधिकार रक्षाको लागि पदमा रहँदा र नरहँदा पनि क्रियाशील रहने उनको भनाइ छ ।
व्यवसायी सदस्यहरुसँग अन्तरक्रिया गरेर उनीहरुको आवश्यकता अनुसारका कार्यक्रम आयोजना गर्ने र संघमा वस्तुगत संघहरुको प्रतिनिधित्व वृद्धि गर्दै, वस्तुगत संघहरुको सचिवालय व्यवस्थापन गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।
‘व्यवसाय सञ्चालनमा मात्र सीमित नभई दीर्घकालीन रुपमा व्यवसायको विकास र विस्तार गर्ने प्रक्रियामा सहभागी हुनेछु । महिला उद्यमीहरुले व्यवसायको लागि आवश्यक सम्पूर्ण स्रोत र साधनको व्यवस्था मिलाउने छु ।
जोखिम वहन गर्दै आएका सम्पूर्ण व्यवसायी एवं दिदीबहिनीहरुको दुःखमा सारथी बन्ने छु’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उद्यमशीलता अवधारणा अनुसार महिला दिदीबहिनीहरुले गर्ने उद्यमसम्बन्धी क्रियाकलापलाई पहिलो प्राथमिकतामा राख्ने छु ।
महिला उद्यमी तथा घरेलु, साना तथा लघुउद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रबर्द्धनमा सहयोग गर्नेछु । यसका लागि संघमा रहेको कोसेली घरलाई थप व्यवस्थित बनाउँदै दुरदराजमा रहेका महिलाहरुलाई कोसेली घरसम्म जोड्ने छु ।





















