विराटनगर । रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
पकाउ पर्नेमा अस्पतालका ‘क्यासियर’ विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, सुनसरीको दुहबी नगरपालिका–१२ का २९ वर्षीय राजेशकुमार फौदार र विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास रहेका छन् ।
उनीहरुलाई रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्नकुमार दाहालले जानकारी दिए। पक्राउ परेका तीन जनालाई ‘क्यासियर’ को जिम्मेवारी दिएर अस्पतालले नियुक्त गरेको उनले बताए।
अस्पताल प्रशासनले तीन जनाविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरिएको बताउँदै, अस्पतालको ‘क्यास काउन्टर’ मा कार्यरत उनीहरुकै संलग्नतामा रकम अपचलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
बराल र फौदार पुस १० गते तथा विश्वास पुस १३ गते पक्राउ परेका हुन् । उनीहरुविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालेका दाहालको भनाई छ ।
बिरामीहरुले उपचार गरे बापत अस्पताललाई तिर्नुपर्ने रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । ‘क्यासियर’ को जिम्मेवारीमा रहेका उनीहरुले ‘बिलिङ काउन्टर’ मा बसेर बिरामीसँग उपचार बापतको सम्पूर्ण रकम लिने र अस्पताललाई थोरै मात्र देखाउने, महँगो सेवा लिएका बिरामीले सस्तो सेवा लिएको देखाएर अनियमितता गरेको पाइएको एसपी दाहालले बताए ।
बिरामीसँग बढी रकम लिने तर अस्पताललाई थोरै मात्रै हिसाब देखाउने गरेको पाइएको कारण उनीहरु बिरुद्ध उजुरी गरिएको अस्पतालका महाप्रबन्धक दीपेश राईले बताए । उनीहरुले के कति रकम हिनामिना गरेका हुन् ठ्याक्कै भन्न सकिने अवस्था समेत नरेको राईको भनाई छ ।
अहिले अस्पतालमा पनि सम्पूर्ण बिलहरुको हरहिसाब हुँदै गरेको र उनीहरु मात्रै घटनामा संलग्न हुन् या अरू कर्मचारीको पनि संलग्नता छ भन्ने विषयमा खोजी भइरहेको राईले बताए ।






















