काठमाडौं । एक दशक देखि घाटामा गएको जनक शिक्षा सामग्री केन्द्र तीन वर्ष देखि नाफामा गएको छ। आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म जनक शिक्षा नाफामा गएको हो ।
जनक शिक्षा मामाग्री केन्द्रले आर्थिक वर्ष ०७७/०७८ देखि हाल सम्म ५१ करोड मुनाफा गरेको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिए । विगतमा विद्यालय स्तरको पुस्तक छपाइमा प्राथमिकता दिँदै आएको केन्द्रले अहिले मतपत्र, प्रश्न पत्र, उत्तर पुस्तिका, अन्तःशुल्क स्टिकर, यातायात कार्यालयका बिल, सवारी लाइसेन्स लगायतका सामग्री छाप्ने जिम्मेवारी पाएपछि मुनाफामा गएको प्रबन्ध निर्देशक झाको भनाई छ ।
थप जिम्मेवारी सहित व्यापार बढेकाले जनक शिक्षा सामग्री केन्द्रले चार कलर छपाई गर्ने तीन वटा आधुनिक मेसिन थपेको र अहिले केन्द्रको दैनिक डेढ लाख छपाई उत्पादन क्षमता रहेको झाले जानकारी दिए।
संस्थाले कमाएको मुनाफाले नयाँ तीन वटा मेसिन किनेर व्यापार बढाएको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रवीन्द्र कुमार शर्माले बताए । मुनाफा कमाउन थाले पछि केन्द्रले विगतका ऋणका ब्याज समेत तिर्दै गएको शर्माले बताए । उत्पादन बढेकै कारण चालु शैक्षिक सत्रमा विद्यालय स्तरको पाठ्यपुस्तक समयमै विद्यालयमा पुराउन सकेको उनको भनाइ छ ।





















