काठमाडौं / किशोर अधिकारी (अनुराग)को लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली हाँस्यव्यंग्य सिरियल ‘खाईस् की !’ बुधबारबाट प्रसारणमा आउने भएको छ। सिरियल हरेक बुधबार साझ ७ः३० मा काष्ठमण्डप टेलिभिजन बाट प्रसारणमा आउन लागेको हो।
‘खाईस् की !’ को प्रसारणका लागि काष्ठमण्डप टेलिभिजन संस्थानसंग सम्झौता सम्पन्न भएको निर्माता ईश्वर वल्लभ उप्रेतीले जानकारी दिए। प्रसारणका लागि आवश्यक तयारी समेत पुरा भैइसकेको निर्देशक किशोर अनुरागले बताए ।
रंगमञ्चमा स्थापित निर्देशक अनुरागले पहिलो पटक टेली सिरियल निर्माणमा प्रवेश गरेका हुन् । उनको लेखनमा तयार पारिएको उक्त सिरियलमा उनीसंगै सिरियल निर्माता ईश्वर वल्लभ उप्रेती, नविन खड्का र आनन्द प्रभाकर घिमिरे कलाकारहरू श्रीहरि चापागाँई, सुमन बिष्ट, स्नेहा कार्की, याम मगर, रोजिना कोइराला र अमिना खड्का लगायतको अभिनय रहेको छ।
उक्त टेलिसिरियलले दर्शकहरूलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ । निर्देशक अनुरागका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक विषय वस्तुमा र समसामयिकतामा आधारित रहनेछ । उक्त सिरियल युट्युब च्यानल सेलिव्रेशन स्टुडियामार्फत पनि हेर्न सकिने छ।





















