काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले नै मध्यावधि निर्वाचनमा जानुपर्ने भन्न थालेको बताएका छन् । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’को पन्ध्रौं दिन भोजपुररको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा भएको सभालाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् ।
एमाले नेतृत्वको सरकारलाई ढालेपछि देश ओरोलो गतिमा लागेको जिकिर गर्दै उनले राजनीति र अर्थतन्त्र बिग्रिएको देखेर सबै चिन्तित भएको बताउँदै कांग्रेस अहिलेको सरकारसँग आजित भइसककेको बताए ।
उनले भने, ‘अहिले नै देश ओरालो लागिरहेको छ, नेकपा एमाले सरकार बलजफ्ती देशी तथा विदेशी शक्तिबाट हटाएपछि देशको अवस्था एकदमै नाजुक हुँदै गएको छ,’ उनले भने, ‘यो नाजुक अवस्थालाई रोकेर, नेपाली कांग्रेसकै नेताहरू पनि भन्न थाल्नुभएको छ, ०८४ सालको चुनाव पर्खन सकिँदैन भनेर। नेपाली कांग्रेसकै सरकार पनि यो सरकारसँग आजित भइसक्नुभएको छ।’
मध्यावधि निर्वाचन नभए पनि एमालेको मिसन ८४ लाई सफल पानुपर्नेम जोड दिए। अहिलेको सरकार २०८४ सम्म टिक्न नसक्ने भन्दै ‘कुहिएको फल’को संज्ञा दिए। ‘समृद्ध नेपाल, सुखी नेपाल बनाउनका लागि पनि अन्तत्वगत्वा पनि मिसन ८४ सफल पार्नुपर्छ। अहिलेको सरकार आफ्नै अयोग्यताले ८४ सम्म टिक्नसक्ने अवस्था छैन। कुहिएको फलजस्तै आफैँ झर्ने अवस्था छ,’ उनले थपे, ‘देशभक्त, शान्तिप्रिय, विकासप्रेमी, सुशासनवाला सरकारको आवश्यकता छ, त्यसका लागि जनताले सच्याउनु आवश्यक छ।’
सबै ठाउँमा जनताको तर्फबाट पाएको न्यानो स्वागतको लागि उनले सबैलाई धन्यवाद दिए । बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ। एमालेले मध्यपहाडी राजमार्गलाई केन्द्रमा राखेर त्यस आसपासका पहाडी भू–भागमा आफ्नो कार्यक्रमलाई तीव्रता दिएको छ।





















