पोखरा । पोखरा महानगरपालिका ८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान आगलागी भएको हो ।
बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी बिहान करिब सवा ७ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको कमाण्डमा खटिएको टोलीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताइएको छ ।
आगलागीमा नगद पैसा ५० हजारसहित करिब ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट प्रहरीले संकलन गरेको क्षतिको विवरण अनुसार बाल्ट्रा कम्पनीको एसी पाँच थान, मोबाइल फोन दश थान, फ्रिज एक थान, सीसीटिभी क्यामेरा पाँच थान रहेका छन् ।
यसैगरी कम्पयुटर एक थान, साउण्ड सिस्टम १ सेट, टीभी एक थान, सोफा १५ सेट, ग्याँस गिजर एक थान, पंखा १३ थान पनि आगलागीमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट विभिन्न बैकको चेकहरुको साथमा १३ लाख बराबरको विभिन्न ब्राण्डको रक्सि, अं ८० हजार बराबरको र वाइरिङको तार तथा जिप्सनहरु जलि क्षति भएको जनाइएको छ ।





















