काठमाडौँ । माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानको समीक्षात्मक प्रतिवेदन केन्द्रमा पठाउन सबै प्रदेशलाई निर्देशन दिएको छ । भदौ १६ गते देखि ७५३ वटै पालिकाको वडामा सञ्चालन भएको तीन महिने अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउन निर्देशन दिइएको हो ।
अभियानको समीक्षात्मक प्रतिवेदन पुस १६ भित्र केन्द्रमा पठाउन सातै प्रदेशलाई समय दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए । उनका अनुसार सातै प्रदेशबाट प्रतिवेदन आउने क्रम जारी रहे पनि तीन महिनाको समीक्षात्मक प्रतिवेदन तयार हुने छैन ।
सबै पालिकाबाट आएका समीक्षात्मक प्रतिवेदन केन्द्रमा आएपछि पदाधिकारी बैठक बसेर थप निर्णय हुने उनले जानकारी दिए । अभियानको कार्यतालिका थप लम्ब्याउने विषयमा कुनै छलफल नभएको ढकालले बताए ।
साउन तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकले भूगोल र गैर भूगोलका इन्चार्जको जिम्मेवारी फेरफेर गरेको थियो ।
बैठकको निर्णय अनुसार कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिममा डिलाराम आचार्यलाई इन्चार्ज बनाएको थियो ।
यस्तै गैर भूगोल प्रदेशअन्तर्गत उपत्यका विशेष इन्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय प्रदेशमा गिरिराजमणि पोखरेल र प्रवासमा राम कार्कीलाई इन्चार्जको जिम्मेवारी दिएको थियो ।
अभियानको बिचको समयमा दसैँ, तिहार, छठ लगायत चाडपर्व परेकाले माओवादी केन्द्रले एक महिना समय समेत थपेको छ ।





















