काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।
कोप-२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले भने, ‘संयुक्त राष्ट्रसंघको महासभामा पनि यस अघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ। युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन सोचका साथ मैले त्यो विषय बोलेको हुँ।’ सो अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको अन्तरक्रिया गर्दा पनि आफूले उक्त विषय उठाएको उनले जानकारी दिए।
त्यसपछि आफ्नो निमन्त्रणामा महासचिव गुटेरेस नेपाल भ्रमणमा आएको उल्लेख गर्दै उनले महासचिवले नेपाल भ्रमणका क्रममा हिमालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखेर उक्त विषयलाई विश्वव्यापी बनाउन सहयोग गरेका बताए।
नेपालमा जलवायुको असरको विषय विश्वव्यापी रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाललाई अधिकार दिनुपर्छ भन्ने माहोल बन्दै गएको उल्लेख गरे।
उनले कोप-२८ उद्घाटनका अवसरमा महासचिव गुटेरेसले शुक्रबार आफ्नो मन्तव्यमा नेपालको नाम लिनु नेपालका लागि खुसीको कुरा हो भने। युवा पुस्ताका विचार र भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो विषय दायित्व सबैको भएको बताए।
उनले कोप-२८ मा नेपालका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन नेपालका प्रतिनिधिमण्डल सबैलाई निर्देशन दिए। सम्मेलनमा सरकारले सशक्त रुपमा तयारी गरेको उनको भनाइ थियो।





















