चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आवास (क्वाटर) मा चरम दुरुपयोग भएको जनाएको छ । पार्टीका जिल्ला संयोजक कृष्णप्रसाद भुषालले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारी सम्पत्तिमाथि चरम दुरुपयोग, लुट र अनियमितता भएको आरोप लगाउनु भएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ “अस्पतालभित्रको सरकारी क्वाटरको अनाधिकृत तवरले प्रयोग हुनु ज्यादै लज्जास्पद छ ।” यस्तो विषयमा गम्भीर हुन र राज्य–सम्पत्तीमाथीको दोहोन तुरून्त रोक्न सम्बन्धित व्यक्ति र निकाय समक्ष माग गरिएको छ । विज्ञप्तीमा “पहुँच र गुण्डागर्दीका आडमा यसरी नै राज्य सम्पत्तिमाथि अनाधिकृत रूपमा कब्जा जमाई रहने हो भने पार्टी मुकदर्शक नहुने र आवश्यक कार्वाहीको माग गर्दै कानुनी प्रक्रियामा जाने कुराको अवगत गराउन चाहन्छौं ।”
यसैगरी यातायात कार्यालय चितवनको सवारी चालक अनुमति–पत्र प्राप्त गर्न चाहिने मेडिकल रिर्पोट बनाउँदा लिईरहेको अत्याधिक शुल्कमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको छ । विज्ञप्तिमा भनिएको छ “खुलेआम आमनागरिक दैनिक लुटिईरहँदा सम्बन्धीत निकाय किंकर्तव्यविमुढ नबनोस् ।”






















