चितवन – धुर्मुस सुन्तली फाउन्डेसनले अलपत्र पारेको गौतम बुद्ध क्रिकेट रंगशाला भरतपुर महानगरकी मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीको पहलमा निर्माण हुने भएको छ ।
२ वर्षदेखि अलपत्र बनेको भरतपुर महानगर १५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मेयर र उपमेयरको पहलमा वागमती प्रदेश सरकारले लगानी गर्ने निश्चित भएसगैँ फेरि निर्माण सुरु हुन लागेको हो । क्रिकेट रंगशाला निर्माण सुरु हुने खबरले देशैभरका खेलाडी तथा खेलप्रेमीमा खुसीयाली छाएको छ ।
रंगशाला निर्माण अघि बढाउन दुई साताअघि भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारले सम्झौता गरेका थिए । संघीय सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा समेटेपछि रंगशालाले पूर्णता पाउने विश्वास बढेको हो । खेलाडीले जतिसक्दो छिटो रंगशाला निर्माण अघि बढाउन आग्रह गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका १५ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ गते सम्झौता भएको थियो । फाउन्डेसनले जनसहयोगबाटै रकम जुटाउने भन्दै चन्दासमेत उठाएको थियो । तर पर्याप्त रकम संकलन हुन नसकेपछि निर्माण कार्यमा समस्या उत्पन्न भयो । १८ करोड बक्यौता रहेको भन्दै फाउन्डेसनले काम अघि बढाउन सकेन ।
आर्थिक संकट चुलिएपछि काम रोकिएको पनि दुई वर्ष बढी भइसक्यो । तर, अब यसको निर्माण प्रक्रिया अघि बढ्ने भएपछि खेलाडीहरु उत्साहित भएका छन् । ‘धेरै खुसी लागेको छ । हेरौं, स्टेडियम चाँडै बनोस्, एक्साइटेड भएका छौं,’ राष्ट्रिय खेलाडी गौतम केसी भन्छन् । यस्तै अर्का राष्ट्रिय खेलाडी प्रतीक श्रेष्ठले लामो समयपछि रंगशाला बन्ने भएपछि आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।
‘नेसनल प्रोजेक्टमा यसलाई लिइएको छ । अब यो बन्छ,’ जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाले भने, ‘यो खबरले नेपाली क्रिकेटा जुन ऊर्जा छ त्यो थपिएको छ ।’ सरकारले यही कात्तिक २३ गते चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको थियो ।
भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर पहिलो चरणमा ७५ करोड लगानीमा निर्माण अघि बढाउन लागेको छ । जसमा प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ ।
गौतम बुद्ध रंगशालामा करिब ५ हजार क्षमताको प्यारापिट निर्माण भइसकेको छ । अन्य प्यारापिट निर्माणका लागि बनाइएका ठूला पिल्लर खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्न लागेका छन् । घाँस रोपिएको खेल मैदान झाडीले भरिएको छ । निर्माण सामग्री अलपत्र छन् । फाउन्डेसनको १८ करोड रुपैयाँ बक्यौता रकम चुक्ता गर्न भन्दै सरकारले १२ करोड दिने निर्णय गरे पनि उक्त रकम फ्रिज भएको थियो ।
तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख रुपैयाँ मात्रै संकलन भएको थियो । रंगशाला निर्माणमा हालसम्म ५७ करोड बढी खर्च भइसकेको धुर्मुस(सुन्तली फाउन्डेसनको दाबी छ ।





















