चितवन – चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले मिल्क होलिडे नगर्न चितवन मिल्क लिमिटेडसँग आग्रह गरेको छ ।
तिहार नजिकिँदै गर्दा कर्मचारीहरुलाई बिदा दिनुपर्ने र उद्योगको मेसिनलाई मर्मतसम्भार तथा सरसफाइ गर्नुपर्ने भन्दै उद्योगले दुग्ध उत्पादक सहकारी संघमा लक्ष्मीपूजाको दिनदेखि केही दिन उद्योगको काम रोकिने हुँदा दूध नपठाउन पत्र पठाएपछि संघ समस्यामा परेको हो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको तथ्याङ्कअनुसार चितवनमा दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ३५ हजार लिटर दूध चितवनमा खपत हुन्छ भने बाँकी बाहिरी जिल्ला र ५० हजार लिटर दूध भरतपुर–१, ठिमुरास्थित चितवन मिल्क लिमिटेडमा खपत हुँदै आएको छ ।
सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध उत्पादक किसानका लागि चितवन मिल्कले ठूलो भूमिका खेल्दै आएको छ । तर, एकदिनमात्रै चितवन मिल्क बन्द हुँदा मिल्क होलिडेको स्थिति आउनसक्छ ।
उद्योगले संघलाई पत्र काटेपछि यतिबेला दुग्ध किसान समस्यामा परेका छन् । किसानको दूध खेर जान नदिन संघका अध्यक्ष बगाले, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीसहितका पदाधिकारीले बुधबार उद्योगमै पुगेर काम नरोकिदिन आग्रह गरेका हुन् ।
उद्योगका सहायक प्रबन्धक हेमप्रसाद तिवारीले दूध ल्याउने डेरी पसलहरुले पाउडर दूध र बटर समयमै नलगिदिँदा उद्योगमा दूधको भण्डारण गर्ने ठाउँ नै नरहेको जनाएका छन् । दूध ल्याउने कम्पनीहरुले आआफ्नो डेरीका सामान लगेर गोदाम खाली गरिदिन उनले आग्रह गरेका छन् । दूध ल्यानअनुसार सामान नलगिदिँदा गोदाम नै भरिन पुगेको उनको भनाइ छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बगालेले भने उद्योगमा थन्किएर बसेका आफ्नो सामान उठाइदिने विषयमा समन्वय गरिदिने बताउँदै उद्योग बन्द नगरिदिन अनुरोध गरेका छन् ।





















