चितवन – चितवनको भरतपुर महानगरपालिका र जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित सिगात्से सहरबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक समारोहमा दुई सहरका प्रमुखले हस्ताक्षर गरेसँगै भगिनी सम्बन्ध स्थापना भएको हो । सम्झौता पत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहरका मेयर लिउ हुवाझोङले हस्ताक्षर गरेका हुन् ।

समारोहमा मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीलगायतको उपस्थिति थियो । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनफिङले अक्टोबर २०१९ मा गरेको नेपाल भ्रमणका क्रममा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिको मर्मअनुसार भरतपुर र सिगात्सेबीच भगिनी सम्बन्ध स्थापना भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
भगिनी सम्बन्ध स्थापना भएपछि दुई सहर भरतपुर र सिगात्से द्विपक्षीय मित्रतालाई थप विकास र सुदृढ पार्न लागिपर्ने छन् । जसअनुसार द्विपक्षीय मैत्रीपूर्ण सहयोगलाई सुदृढ पार्नका लागि आपसी सहयोग आदान–प्रदान गर्न एकमत रहनेछन् । भगिनी सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै भरतपुर महानगरकी प्रमुख दाहालले खुसी व्यक्त गरिन् । सिगात्सेमा भएका विकासका मोडेल सिकेर भरतपुरमा लागू गर्न अब सहज हुने उनले बताइन् ।

भगिनी सम्बन्ध स्थापनापश्चात हुनेछन् यी कामहरू :
१. पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्णरुपमा सहयोगको आदान–प्रदान ।
२. साझा समृद्धि र विकासलाई प्रवद्र्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटनलगायतका क्षेत्रमा विभिन्न सहयोग आदान– प्रदान ।
३. द्विपक्षीय आदान–प्रदान, सहयोग र साझा सरोकारका विषयमा परामर्श गर्न दुवै पक्षबाट सधैँ सम्पर्क र सहयोग आदान–प्रदान ।
४. दुई पक्षले हस्ताक्षर गरेपछि यो समझदारीपत्र लागू हुनेछ । पाँच वर्षको लागि मान्य हुने समझदारी पत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाए सम्म यो स्वतः मान्य रहनेछ ।
५. यो समझादारी पत्र तीन प्रति हुनेछ । समझदारी पत्र नेपाली, अंग्रेजी र चिनियाँ संस्करणहरू समानरुपमा आधिकारिक मानिने छन् । यो समझदारी पत्रको प्रावधानहरूको व्याख्यामा कुनै भिन्नता भएको अवस्थामा अंग्रेजी संस्करण मान्य हुनेछ ।

यसअघि जापानको कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । सम्झौता पत्रमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजीले हस्ताक्षर गरेका थिए ।





















