भरतपुर । भरतपुर अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीले अन्यन्त्र ठाउँमा रिफर गर्ने अवस्थालाई अन्त्य गर्नका लागि कार्ययोजना बनाएर काम गर्ने बताउनु भएको छ ।
बुधवारबाट भरतपुर अस्पतालमा भएको पदभार ग्रहण कार्यक्रममा बोल्दै डा. तिवारीले अस्पतालमा थप साधन स्रोतको व्यवस्थापन गरेर उपचारलाई अझै स्तरीय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
भरतपुर केन्द्रीय अस्पताल भएकाले बिरामीको संख्या बढी भएको भन्दै उहाँले उचित तरिकाले व्यवस्थापन र गुणस्तरीय सेवा दिनको लागि अस्पतालललाई केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । “थप जनशक्ति र विभिन्न विधाका चिकित्सकहरु थपेर धेरै लामो लाइन बस्नुपर्ने अवस्थालाई घटाउनका लागि काम गर्नेछु ।” उहाँले प्रतिबद्धता जनाउँदै अगाडि भन्नुभयो, “विभिन्न जिल्लाबाट आएका बिरामीलाई अन्यन्त्र ठाउँमा रिफर गर्न नपर्ने गरेर थप स्रोत र साधनको व्यवस्थापन गरेर उपचारलाई अझै स्तरीय बनाएर लैजाने योजना बनाएको छु ।
स्वास्थ्य बीमाका बिरामीलाई औषधी र समयमै चिकित्सकसँग भेट्न मिल्नेगरी प्रबन्ध मिलाउने समेत उहाँले उल्लेख गर्नुभयो । त्यही अनुसार सरोकारवालासँग छलफल गरेर योजना बनाएर अगाडि बढ्ने उहाँको भनाई थियो ।
केन्द्रीय सरकारसँग थप बजेट माग गरेर भरतपुर अस्पताललाई थप सुविधासम्पन्न बनाउने पनि उहाँको भनाइ थियो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले नवनियुक्त मेसु तिवारीलाई स्वागत गर्दै अस्पतालको सेवासुविधामा थप गति प्रदान गर्न नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वस्त व्यक्त गर्नुभयो । अस्पताल निरन्तर प्रगती उन्मुख अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले नवनियुक्त मेसुको धेरै ठाउँको प्रशासनिक दख्खलताले अस्पताललाई थप गति प्रदान गर्न सघाउ पुग्ने बताउनुभयो ।
अस्पताल सुधारको लागि धेरै योजना अनुरुपका कार्यहरु अगाडि बढिसकेका र त्यसलाई तिव्र गति दिन नवनियुक्त मेसु तिवारीको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।
कार्यक्रममा अस्पतालका निमित्त मेट्रोन शान्ता भण्डारीले स्वागत गर्नुभएको थियो । सो अवसरमा अस्पताल सञ्चालक समितिका सदस्य सहित अस्पतालका विभिन्न विभागका प्रमुख, चिकित्सक, नर्स, कर्मचारीको उपस्थिति थियो ।
























