जंग वहादुर राणा समेतको योगदानवाट अंग्रेज मुलुकको उपहारको रुपमा आएको मुलुकी ऐन विस्थापित भएर करिव १६५ वर्ष पछि २०७५ साल भाद्र १ गते देखि मुलुकी र देवानी संहिता समेतको नाममा परिमार्जित भई उक्त कानूनहरु व्यवहारमा आएको छ ।
नयाँ कानूनले विवाह भए पछि पति र पत्नि को पारिवारिक, सामाजिक र कानूनी अधिकार तथा कर्तव्यहरु निर्धारण गरेको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को भाग ३ अन्तर्गतको पारिवारिक कानून को परिच्छेद २ मा विवाहको परिणाम सम्वन्धि व्यवस्था गरिएको छ ।
यस ऐनको दफा ८५ मा कुनै पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिनेछ र यस कानूनले महिला र पुरुष वीच मात्र विवाह हुन सक्ने तर समान वा तेश्रो लिङ्ग वीच विवाहको कल्पना गरेको छैन ।
विवाह भए पछि दफा ८६. मा पति र पत्नीको सम्बन्ध र दायित्व अन्तर्गत पति र पत्नी बीच आपसी पे्रम र सद्भाव हुनु पर्नेछ । आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पर्नेछ । पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्नेछ भन्दै पति र पत्नि वीचको वैवाहिक सम्वन्ध प्रगाढ हुनु पर्ने तर्फ पनि ऐनले सचेत वनाएको छ ।
पत्नि को घरमा पति विवाह गरि जान हुन्छ र पत्नीको घर पतिको पनि घर कायम हुनु पर्छ भन्ने आवाज नेपाली समाजमा असान्दार्भिक भएकोले यसै ऐनको दफा ८७. मा पतिको घर पत्निको बासस्थान मानिने भन्ने व्यवस्था गरिएको छ ।
पति र पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ । साथै अधिकांस घरमा पति नै घरको मुली वा प्रतिनिधि मानिएको साविकको व्यवस्थालाई फराकिलो वनाई दफा ८८ मा पति र पत्नी दुवै एक अर्काको प्रतिनिधि मानिने भन्ने व्यवस्था राखिएको छ ।
यसैगरी कानूनमा अन्यथा व्यवस्था भएकोमा वा पति र पत्नी बीच कानूनी विवाद भएकोमा बाहेक सामान्य घर व्यवहारको काममा पति वा पत्नी एक अर्काको प्रतिनिधि रहेको मानिनेछ । यस्ता प्रतिनिधिले गरेको व्यवहारलाई कानूनले मान्यता पनि दिएको छ ।
समाजमा पतिवाट पिडित भएका पत्निहरु र पत्नि वाट पिडित भएका पतिहरु वढेको आवाजलाई सम्वोधन गर्न पति वा पत्नीले एक अर्कालाई इज्जत अनुसार व्यवहार गर्नु, गराउनु पर्ने कानूनी व्यवस्था दफा ८९ मा गरिएको छ ।
पति वा पत्नीले एक अर्कालाई आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ । घर व्यवहार संचालन गर्दा दफा ९० अनुसार सहमतिमा चलाउनु पर्ने कानूनी व्यवस्था पनि नयाँ हो ।
एकासगोलका पति र पत्नीले आफ्नो सम्पत्ति, आम्दानी तथा हैसियत अनुरूप आपसी सहमतिको आधारमा घर व्यवहार चलाउनु पर्नेछ । पति वा पत्नीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक अर्कोको मञ्जुरी लिनु पर्नेछ । मन्जूरी नलिई गरेको कारोवार कानून अनुसार वदर हुन सक्नेछ ।
पति वा पत्नीले कुनै पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने प्रावधान पनि दफा ९१ रहेको छ । पति वा पत्नी वा परिवारका कुनै सदस्यले एक अर्कालाई निजको सीप, योग्यता वा क्षमता अनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक्न हुँदैन ।
आफ्नो ईच्छा र दक्षता अनुसारको रोजगार गर्ने संवैधानिक मौलीक हकको संरक्षण पनि गरिएको छ । यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ भनि दफा ९२. हदम्याद सम्वन्धि व्यवस्था गरिएको छ । तोकीएको हदम्याद भित्र सम्वन्धित अदालतमा उजूर नगरे पछि कुनै उजूर लाग्न सक्दैन ।
यसरी पति र पत्नी विचको विवाहको परिणाम पवित्र वैवाहिक जीवन होस् भन्ने कामनाको साथ कर्तव्य, अधिकार र दायित्वहरु समेत निर्धारण गरि विवाहको परिणाम समन्धि कानूनी व्यवस्था आएको छ । यसलाई अनुसरण गर्नु हरेक पति र पत्नीको कानूनी दायित्व पनि हो ।
(लेखक हरि मैनाली अधिवक्ता तथा नोटरी पव्लिक आधिकारिक अनुवादक हुनुहुन्छ )





















