काठमाण्डौं । पाटन अस्पतालमा दुई डाक्टरमाथि कुटपिट भएको छ । घटनापछि डाक्टरहरू आन्दोलित भएका छन्। अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले शनिबार साँझ ड्युटीमा रहेका दुई डाक्टरलाई आक्रमण गरेका थिए ।
मकवानपुर स्थायी घर भई ललितपुर बस्दै आउनुभएका ६८ वर्षीय पुरुषको शनिबार साँझ ६ बजेतिर मृत्यु भएको थियो। डाक्टरले गलत औषधि प्रयोग गरेका कारण मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन्।
आक्रोशित भएका बिरामीका दुई आफन्तले इन्टरनल मेडिसिनका आवासीय डाक्टर र एक फेलोसिप डाक्टरको टाउकोमा मुक्मा प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । आक्रमणमा पर्ने डाक्टरहरुलाई सुरक्षाका लागि एउटा कोठामा लगेर राख्दा समेत त्यहीँ गएर घेरा हाल्दै अभद्र व्यवहार गरेको पाटन अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
पाटन अस्पताल व्यवस्थापनले मृतकका आफन्तसँग छलफल गरी गलत औषधि दिएको शंका शवको मेडिकल परीक्षण गर्न सुझाव दिएका छन्। आइतबार साँझसम्म आफन्तले शव उठाएका छैनन्।
डाक्टरमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै अस्पतालमा कार्यरत आवासीय चिकित्सक, इन्टर्न र फेलोसिप डाक्टर आन्दोलित भएका छन्।
दोषी पक्राउ नपरेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरिने चेतावनी चिकित्सकले दिएका छन् । आइतबार टिकट काटिसकेको भएर केहीबेर ओपीडी चले पनि सोमबारबाट बन्द गरिने चेतावनी डाक्टरहरुले दिएका छन् ।

























