काठमाडौं। आइसिसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो। नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे।उनले ६५ रनको योगदान गर्ने क्रममा ३४ बलमा २ चौका र ७ छक्का प्रहार गरे।
त्यसअघि ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए। ५.३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेख २३ बलमा १ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे। कप्तान रोहित पौडेलले २ रन मात्र जोड्न सके। सन्दीप जोराले नटआउट १८ रन र विवेक यादवले नटआउट २ रन जोडे।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो। उत्कृष्ट सुरूआत गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो। त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोसिस गरेको थियो।
नेपालका लागि पहिलो विकेट अभिनाश बोहराले ५.५ ओभरमा लिए। उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए। अर्को ओभर नेपालले मलेसियाका कप्तान अमहद फइजलाई ३ रनमा रनआउट गर्यो। दुई रन लिने चक्करमा रहेका उनलाई करण केसीको थ्रोइङमा विकेटकिपर आसिफले रनआउट गरे।
त्यसपछि सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। कप्तान रोहित पौडेलले शर्भिन मुनियान्डीलाई १३ रनमा क्याच गरे। त्यसअघि पाँच बलमा रोहितले १५ रन खर्चिएका थिए।
१४ औं ओभरमा गुल्सन झाले ६८ रन बनाएर खेलिरहेका ओपनर सयद अजिजलाई कुशल भुर्तेलबाट क्याच गराए। मलेसियाका लागि सबैभन्दा बढी रन बनाएका उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले अइनूल अफिजलाई पनि रन आउट गर्न विकेटकिपर आसिफलाई बल दिएका थिए। १८ औं ओभरमा अभिनाशले मोहमद अमिरलाई ८ रनमा बोल्ड गरे। अभिनाशले अन्तिम ओभरमा साजरुल इद्रुसलाई कुशल भुर्तेलबाट ७ रनमा क्याच गराउँदा फित्रि शामलाई ६ रनमा बोल्ड गरेका थिए।
नेपाल सेमिफाइनल प्रवेश गरेसँगै समूहको अर्को टिम ओमानले पनि अन्तिम चारमा स्थान पक्का गर्यो। नेपाल र ओमान दुवैले मलेसिया र सिंगापुरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। मलेसिया र सिंगापुर भने अन्तिम खेलअघि नै बाहिरिए। अब नेपाल र ओमानबीच बिहीबार हुने खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।





















