फोटो साभार
कालीकोट । जिल्ला सदरमुकाम मान्मदेखि जिल्ला अस्पतालसम्मको सडक कालोपत्रे एक वर्षमै उप्किएको छ । कमजोर निर्माण सामग्री र निर्माण कम्पनीको लापरबाहीका कारण एक वर्षअगावै कालोपत्रे उप्किएको हाे ।
निर्माण भइरहेका बेला गोरखापत्र सहितका सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटमा भएको छलफलमा बजेट व्यवस्थापन गरेर उक्त खण्डमा आरसिसी गर्ने भनिए पनि अहिलेसम्म जिरो प्वाइन्ट क्षेत्र जीर्ण नै छ । सडकमा राखिएको अलकत्रा त्यतिबेला नै उप्किएको थियो । धेरै विरोधपछि निर्माण कम्पनीले स्थानीयले सडकमा पानी फालिदिएका कारण यस्तो भएको दाबी गरेको थियो । खड्का निर्माण सेवाले उक्त सडकको काम जिम्मा पाएको थियो ।
सहरी विकास कार्यालय जुम्लाका प्राविधिक चन्द्र खड्काको निर्माण कम्पनीले गर्ने धेरै काम यस्तै गुणस्तरहीन हुने गरेको आरोप छ । व्यक्तिगत पहुँचको प्रयोग गरी खड्काले प्राविधिक प्रतिवेदन आफैँ तयार गर्ने र ठेक्का पनि पार्ने गरेको आरोप लाग्दै आएको छ ।
यो सडकमा पनि त्यस्तै खेल भएको अनुमान गर्ने धेरै छन् । उनका भाइ समुन खड्काले ठेक्का कार्य सञ्चालन गर्दै आएका छन् । कालीकोटको एकीकृत भवन, जिल्ला अदालत र गेस्ट हाउस निर्माण उहाँकै निगरानीमा भएका थिए तर बनेको एक वर्षमा चर्किनेदेखि कोठामा हालिएको फोर्ससमेत उप्किँदै जाने गरेपछि पुनः मर्मत गर्दै आएको कार्यालयका कर्मचारीको भनाइ छ ।
खड्काले निगरानी गरेको सरकारी वकिलको कार्यालय कालीकोट पनि उस्तै गुणस्तरहीन छ । त्यसैले औपचारिक रूपमा उक्त कार्यालय बुझिएको छैन । सडकको आरसिसीको काम पनि गुणस्तरहीन हुने गरेको छ । काम छिटो सक्ने नाममा खड्काले जग्गा विवादलगायतका कुरा सुल्झाउनुको साटो आफू अनुकूलतामा अन्यत्र लैजाने गरेको स्थानीयको आरोप छ । कालीकोटको सदरमुकाम मान्म बजार आरसिसीका लागि सम्झौता भएका ठेक्का उच्च व्यक्तिको मनसायका आधारमा सार्ने गरिएको छ ।
मान्म बजारदेखि कोटदरबार हुँदै कर्णाली राजमार्गमा जोड्ने आरसिसी सडक उहाँले वडा नं. ४, जहाँ कामै नलाग्ने ठाउँमा सारेर बजेट सकेको स्थानीयको आरोप छ ।





















