काठमाडौं – राजस्व छलेर व्यापारीले काठमाडौं ल्याउँदै गरेको ९२ बोरा चिनी प्रहरीले काभ्रेबाट बरामद गरेको छ। बिहीबार साँझ इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले बनेपा–७ स्थितमा अरनिको राजमार्गबाट ना.६ ख ६२१९ नम्बरको ट्रक सहित ९२ बोरा अवैध चिनी बरामद गरेको हो।
धुलिखेल नगरपालिका–२ का ३७ वर्षीय राजु तिमल्सिनाले चलाएर ल्याउँदै गरेको ट्रकमा अवैध चिनी फेला परेपछि बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीले आशंका गरेर ट्रक रोकी चेकजाँच गर्दा ट्रकभित्र धानको बोराले छोपेर लुकाइछिपाई ल्याउँदै गरेको ५० किलो दरको ९२ बोरा चिनी फेला परेपछि बरामद गरिएको डीएसपी श्रेष्ठले बताए। चिनीसँगै प्रहरीले उक्त ट्रकबाट २८ बोरा धान पनि बरामद गरेको छ।
‘चिनीको मूल्य अन्दाजी ६ लाख र धानको मूल्य ४२ हजार रुपैयाँ मूल्यांकन गरी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएका छौँ,’ डीएसपी श्रेष्ठले भने, ‘ट्रक चालक राजु तिमल्सिनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको छ।’ बाहिरबाट धानको बोराले छोपेर ल्याएको चिनीको कुनैपनि कागजात फेला नपरेपछि बरामद गरिएको श्रेष्ठले बताए।






















