चितवन – संसदको गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा. भोजराज अधिकारीको एउटा नारा थियो “जनतासंग अस्पताल” डा.अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ सो नारा तय गरेका थिए।
बिडम्वना डा.अधिकारीले गत निर्वाचनको क्रममा जित भने हासिल गर्न सकेनन् तर उनको निर्वाचनको क्रममा भन्दै हिडेको नाराले भने प्रारम्भिक रुपमा सार्थकता पाएको छ। ।
डा.अधिकारी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै निर्वाचन क्षेत्रमा जान सुरु गरेका छन् ।

यसैक्रममा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको समन्वय र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन चितवनको आयोजनामा शनिबार माडीको हनुमानझुलामा बृहद एकीकृत स्वास्थ शिविर सम्पन्न भएको छ। सो शिविरमा ८ प्रकारका रोगका विशेषज्ञ चिकित्सकले हनुमानझुलाका स्थानियको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा ५ सय १४ जना लाभान्वित भएको डा.भोजराज अधिकारीले जानकारी दिए ।
सबै बिरामीको रगत र पिशाव तत्कालै परीक्षण गरिएको शिविरमा आवश्यक विरामीको भिडियो एक्स रे समेत गरिएको थियो । ४० जनाको थप उपचारका लागि रिफर समेत गरिएको स्वास्थ्यकर्मी ऋषिरमण खनाल (सुमन) ले जानकारी दिए । सो अवसरमा स्थानीय आधारभुत स्वास्थ्य केन्द्रमा आधारभुत प्रयोगशाला ३ महिनामा स्थापना गर्ने गर्ने प्रतिवद्धता डा अधिकारीले व्यक्त गरेका छन्।
जनतासँग माओवादी विशेष अभियान सफल र प्रभावकारी बनाउन एवम् वाचा पुरा गर्न पार्टी निकटका स्वास्थ्यकर्मीले यो अभियान शुरु गरेका हुन् । जस अन्तर्गत स्वास्थ्य शिविर र खेलकुद सामग्री र स्टेसनरी वितरण अभियान पनि जारी छ । शनिबार नै हनुमाझुलाको सगरमाथा आधारभुत विद्यालयलाई ४० हजार बराबरको खेलकुद सामाग्री समेत हस्तान्तरण गरिएको छ।
कार्यक्रममा नेकपा माओवादीका नेता एवम् स्वास्थ्य विभाग फ्याक्सन इन्चार्ज कल्पना धमलाले जनतासँग गरेका वाचा पूरा गर्न हरेक क्षेत्रले फिल्ड मै खटिएर काम गरिरहेको बताइन् । केन्द्रीय सदस्य श्याम श्रेष्ठले माओवादी नेता कार्यकर्ता जनताकै घरबाट उदाएका कारण पुनः एकपटक जनतासँग बसेर, सेवा गरेर पुर्नजागृत हुने अभियान फलदायी भइरहेको बताए ।
बागमती प्रदेशसभा सदस्य ठाकुर ढकालले हनुमानझूला क्षेत्रमा स्वास्थ ,शिक्षाको सहज पहुँच नहुँदा स्थानीय सधैं समस्यामा परिरहेकोले एउटा अस्पताल र राम्रो शिक्षालयको बारेमा तत्काल केही निर्णय हुने बताए ।
नेकपा माओवादी माडी नगर प्रमुख प्रभु महतोले अहिले सरकारको नेतृत्व गरिएको समयमा पनि माडी र हनुमानझुलाका बासिन्दाका बिषयमा राम्रो गर्न नसके कहिल्यै गर्न नसकिने भएकोले आफू निरन्तर लागिपरेको बताए ।





















