चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सर परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको ओपिडि टिकट निःशुल्क गरिएको हो ।
अस्पतालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिईएको बताउनुभयो ।
अस्पतालले स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । देवकोटाका अनुसार यस महिनाका प्रत्येक शुक्रबार विद्यालय र क्याम्पसमा गएर विद्यार्थीहरुलाई स्तन आफैले कसरी परीक्षण गर्ने भन्ने बारेमा प्रशिक्षण दिईएको हो । नौ कक्षाभन्दा माथिका छात्राहरु र विद्यालय, क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाहरुको पहिचान कसरी गर्ने, कसरी आफैले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ ।
सो अवसरमा अस्पतालका अंकोलोजिष्ट डा.सुवास ठाकुरले महिनाको एक दिन छुट्याएर आफ्नो स्तन आफैले परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले गाँठागुँठी भेटिएमा चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर गाँठागुँठी देखिए क्यान्सर हो होइन भन्ने एकिन गर्नुपर्छ ।” त्यसका लागि मेमोग्राम र युएसजी गरेर एकिन गर्न सकिने उहाँको भनाई थियो ।
क्यान्सर इन्स्टिच्यूमा बढी मात्रामा मुख, जिब्रो, घाँटी, पाठेघर, ब्रेष्ट र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा.दयाराम लम्सालले स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार गर्न सहज हुने र निको हुने दर पनि उच्च हुने बताउनुभयो ।
स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसंख्यामा चार÷पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछ ।





















