काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रवद्र्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताएका छन्। बुधबार साँझ सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्नेगरी लाग्न शुभकामना दिए। उनले यसपटकको एसियाली खेलकूदमा महिलाहरुको प्रस्तुति नौलो भएको उल्लेख गर्दै आउने दिनमा अझै ठूला सफलता प्राप्त हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले आफु खेलाडीलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै विजेता खेलाडीलाई उचित पुरस्कार दिने काममा आफू लागेको बताए। उनले भने, ‘केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको हो, अब त्यसको पनि समाधान भएको छ।’
उनले खेल क्षेत्रको विकासका लागि सरकारको अंग आफूलाई ठानेर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं। हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं। केही मेडल ल्यायौं।’
प्रधानमन्त्री प्रचण्डले चीन जाने बेलामा आफूले महिला सहभागिता देखेर बधाई दिएको थिएँ। अहिले महिलाले नै मेडल र रेकर्ड बनाए। तपाईंहरूलाई बधाई दिन चाहन्छु। खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिएँ। नियमावली पास गरेका थियौं। आजको क्याबिनेटमा निकासाका लागि निर्णय भयो र अब एक हप्तामा त्यो आउँछ।’
नेपालको खेल विश्वले हेरेको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपालि नेपाललाई विश्वले देखेको छ, सुनेको छ।
तपाईंहरूले पनि विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नुभएको छ। तपाईंहरुको प्रस्तुतिले पनि नेपाललाई विश्वले देख्ने र सुन्ने स्थानमा पुर्याएको छ।’ उनले नेपाली खेलाडीको एसियाली खेलमा गरेको प्रस्तुतिले आफूलाई खुसी र गर्वको महशुस भएको बताए।





















