चितवन । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो स्थापना दिवस मनाउँदै छ । असोज १० गते विभिन्न कार्यक्रमको आयोजना गरी १९ औं क्यान्सर सतर्कता दिवस तथा २४ औं वार्षिकोत्सव मनाउन लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार असोज १० गते बिहान ६ बजे भरतपुरको चौबीसकोठीदेखि क्यान्सर अस्पतालसम्म म्याराथोन दौड आयोजना गरिएको छ । बिहान ११ बजेदेखि अस्पतालको सभाहलमा विशेष कार्यक्रम हुनेछ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, अस्पतालका पूर्व अध्यक्षहरु, पूर्व निर्देशकहरु सहभागी हुनुहुनेछ ।
दिवसकै अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको छ । सो अवसरमा अस्पतालले प्रकाशन गरेका तीन वटा पुस्तक विमोचन लगायतका कार्यक्रम हुने कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिनुभयो ।
वि. सं २०५६ सालदेखि सेवा प्रारम्भ गरेको यस अस्पतालको इतिहास वि.सं २०४८ बाट शुरु भएको देखिन्छ । २०४८ चैत्र ३ गते (१८ मार्च १९९२) मा नेपालका तत्कालिन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला र तत्कालिन चिनिया प्रधानमन्त्री लिफङ बीच द्विपक्षीय सहयोग अभिबृद्धि गर्न नेपालमा क्यान्सर अस्पताल स्थापना गर्न चीनको राजधानी बेइजिङमा दुई पक्ष बीच समझदारी भएको थियो ।
सोही अनुसार २०४९ श्रावण २७ (११ अगष्ट १९९२) मा प्रथम पटक बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल परियोजना व्यवस्था समिति गठन भई कार्य आरम्भ भएको थियो ।
२०४९ आश्विन १ गते (१७ सेप्टेम्बर १९९२) मा भरतपुर नगरपालिका वडा नं ७ यज्ञपुरी चितवनमा रहेको साविक बागवानी केन्द्र रहेको ७५–१०–२ जमिनको क्षेत्रफलमा १०० शैयाको क्यान्सर अस्पताल निर्माण गर्ने सम्झौतामा नेपाल र चीन सरकार बीच काठमाडौंमा हस्ताक्षर सम्पन्न भएको थियो ।
यस अस्पतालबाट २०४९ माघ १४ गते (१७ जनावरी १९९३) देखि जनशक्ति तयार गर्ने प्रथम चरणको कार्य प्रारम्भ भएको थियो । वि.सं २०५३ फाल्गुण १५ गते (२६ फेबु्रअरी १९९७) मा बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३, कार्यान्वयनमा आएपछि यसले स्वायत्त संस्थाको रुप धारणा गर्ने अवसर प्राप्त ग-यो ।
मित्रराष्ट्र चीन सरकारको आर्थिक, प्राविधिक र जनशक्ति सहयोगमा निर्मित यस अस्पताल २०५५ पौष ६ गते (२१ डिसेम्बर १९९८) मा चिनियाँ पक्षले निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो । वि. सं २०५६ श्रावण ४ गते (२० जुलाई १९९९) देखि यस अस्पतालले शल्य चिकित्सा तथा २५ शैयाबाट अन्तरंग सेवा प्रारम्भ गरी हाल यस अस्पताललाई ४५० शैयाको क्षमतामा विस्तार गरी क्यान्सर रोगको उपचार हुँदै आएको छ ।
बिरामीको उपचारको साथ साथै अध्ययन अध्यापनको क्षेत्रमा नर्सिङ्ग कलेजको स्थापना भई चौथो वर्षमा प्रवेश गरेको छ । चिकित्सातर्फ विभिन्न विधामा स्नातकोत्तर पश्चात् प्रदान गरिने तालिम नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त (Post Graduate Fellowship Training) तेस्रो व्याच सञ्चालन भईसकेको छ । चिकित्सा शिक्षा आयोगका कार्यक्रम अन्तगत तीन विषयमा तीन वर्षे एनबिएमएस कोर्षमा तेस्रो व्याच सञ्चालनमा रहेको छ ।
यसैगरी अस्पतालमा उपलब्ध उच्चस्तरिय जनशक्ति र साधन स्रोतको समुचित उपयोग गरी अन्य विधामा समेत विभिन्न शैक्षिक कार्यक्रमहरु थपिदै लगिनेछ । भविष्यमा यसलाई एक हजार शैयासम्मको बिस्तार गरी सोवाग्रहीहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुपको सेवा, सुविधा र सहुलियतहरु प्रदान गर्ने अस्पतालले लक्ष्य लिएको कार्यकारी निर्देशक डा. पौडेलले कान्तिपुर हेल्थलाई बताउनुभयो ।
क्यान्सर रोगको रोकथाम, सो रोगबाट ग्रसित व्यक्तिहरुको रोगको निदान र उपचारको लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी उनीहरुलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने यसको उद्देश्य रहेको छ ।
क्यान्सर रोगसम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान गर्ने र सोको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रमा आत्मनिर्भरता प्राप्त गर्ने, क्यान्सर रोगको रोकथाम, निदान तथा उपचारको लागि विकिरणयुक्त पदार्थहरुको प्रयोग, संचालन, विस्थापन तथा सो कार्यमा प्रयोग हुने उपकरण संचालन प्रक्रिया लगायत अन्य सुरक्षात्मक उपायहरुका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता तथा प्रचलनको प्रतिकूल नहुने किसिमको प्रणालीहरुको विकास गर्ने, राष्ट्रिय क्यान्सर रोग नियन्त्रण कार्यक्रम संचालन गर्ने यसका उद्देश्य रहेको उहाँको भनाई छ ।
























