भीमसेनथापा गाउँपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण सुरु गरिएको छ ।
संविधान दिवसको अवसरमा वुधवार एक कार्यक्रमका बीच निस्सा वितरणको कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार बुधवार ७३ जनालाई निस्सा वितरण गरिएको छ ।
पालिकाभित्रका भूमिहीन दलित ११ जना, भूमिहीन सुकुम्वासी १४ जना र अव्यवस्थित बसोबासी ४८ जनालाई निस्सा वितरण गरिएको गाउँपालिकाको भूमि आयोगका फोकल पर्सन शंकर श्रेष्ठले बताए ।
उनका अनुसार राष्ट्रिय भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्की, सदस्य विपिनचन्द्र ढकाल र पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले संयुक्त रुपमा उनीहरुलाई निस्सा वितरण गरेका हुन् ।
२०७८ सालबाट प्रक्रिया सुरु भएपनि बुधबार पहिलो चरणको निस्सा वितरण कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । अव छिटै नै जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया सुरु हुने बताइएको छ ।
अव भूमि आयोग गोरखासहित नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा गएर नाँपजाँच गर्ने र जग्गा वितरण गर्नका लागि प्रक्रिया अघि बढ्ने श्रेष्ठको भनाइ छ ।
सो क्रममा उनीहरु बसेको ठाउँमा जग्गा खोजी गरिने र त्यहाँ नपाएको खण्डमा सार्वजनिक जग्गाको खोजी गरिने उनको भनाइ छ ।





















