काठमाडौं / विभिन्न मुलुकमा अलपत्र एक हजार १७२ नेपाली स्वदेश फर्किएका छन्। आज एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ।
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। नेपाल एयरलाइन्सले दोहाबाट १५० यात्रु र चार शव, क्वालालम्पुरबाट २५२ यात्रु, दुई बच्चा र १४ शव नेपाल ल्याएको छ।
सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ। हिमालय एयरलाइन्सले अबुधाबीबाट १५४ यात्रु काठमाडौँ ल्याएको छ।
थप नेपाली ल्याउन हिमालयको जहाज अबुधाबी, क्वालालम्पुर र चीनको कुनमिङ उडेको छ।सोमबार पनि विभिन्न एयरलाइन्सका १० वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ।
त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट १७० नेपाली काठमाडौँ ल्याएको छ। फ्लाई दुबईले दुबईबाट १५२ यात्रु ल्याएको छ। कतार एयरवेजले दोहाबाट १३९ यात्रु नेपाल ल्याएको छ।
एयर अरेबियाले सारजाहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





















