चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भरतपुर अस्पतालमा कम जनशक्तिमा काम गर्नु परेको बताउनु भएको छ ।
बुधबार भरतपुर अस्पतालको निरीक्षणपछि सम्बोधन गर्दै उहाँले देशभरीका अस्पतालमा जनशक्ति अभावको समस्या रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “चार जना स्वास्थ्यकर्मीले गर्ने काम एक जनाले गर्न बाध्य छन्, यो समस्या समाधान हुन्छ ।” आफूले स्वास्थ्य मन्त्रालयलाई १० प्रतिशत बजेट दिनुपर्ने माग गर्दै आएको भन्दै उहाँले देशभरका अस्पतालमा देखिएका दरबन्दीका समस्या समाधान हुने बताउनुभयो ।
स्वास्थ्य बीमामा समस्या आएको भन्दै उहाँले यसलाई समाधान गरेर जाने विषयमा छलफल भईरहेको बताउनुभयो । स्वास्थ्य बीमाको दुरुपयोग भएको भन्दै उहाँले यसलाई विद्युतीय प्रणालीबाट अनुगमन गर्ने गरी काम अघि बढाईने बताउनुभयो । उहाँले भन्नुभयो “चिकित्सकले आवश्यक भन्दा बढी परीक्षण र औषधि सिफारिस गर्न नपाउने गरी प्रेस्किप्सन अडिटको व्यवस्था गर्न लागिएको छ ।”
चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्यका जनशक्ति अभाव हुन नदिने उहाँको भनाई छ । ऐन संशोधन नगरे पाँच वर्षभित्रमा स्वास्थ्यका जनशक्ति अभाव हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ऐन संशोधन गरेर ६ महिनाभित्रमा स्वास्थ्यका जनशक्ति उत्पादन हुने गरी काम हुन्छ ।” आफूले स्वास्थ्य जनशक्तिको समस्याका बारेमा मन्त्रीपरिषद्मा समेत कुरा उठाएको जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगका बीचमा छलफल गरेर आयोगलाई आवश्यक निर्देशन समेत दिएको उहाँले बताउनुभयो । निर्देशनलाई आयोगले अवज्ञा गर्दै विज्ञप्ति समेत निकालेको भन्दै जसरी पनि दक्ष स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने कुरामा पछि नहट्ने बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो “आफूहरुले दिएको निर्देशनलाई अवज्ञा हुने गरी आयोगले विज्ञप्ति निकाल्छ, निर्देशन ठीक छैन भन्छ । यो देश यसरी चलिरहेको छ । देश कस्ले चलाएको छ ?”
अहिलेको परिस्थिति निकै गम्भीर भएको भन्दै उहाँले भन्नुभयो “विदेश जाने कुरालाई पनि रोक्न नसक्ने, दरबन्दी पनि सिर्जना गर्न नसक्ने, विचौलीको फन्दामा परेर हाम्रा नर्सहरु विदेश जानुपर्ने र त्यहाँ पनि विचल्ली हुने परिस्थिति छ ।”
हजारौंको संख्यामा सीमा पारी गएर पढ्न बाध्य भएको भन्दै उहाँले भन्नुभयो “सीमा पारी दिईने शिक्षाको गुणस्तरका कुरा हुन सक्छन्, शुल्क निर्धारणका कुरा हुन सक्छन्, मापदण्ड बनाउन सकिन्छ । तर पढ्ने वातावरण स्वदेशमै दिनुपर्छ ।”
दरबन्दी बढाएर बेरोजगारलाई रोजगार दिएर सेवा दिने कुरा र ऐन संशोधन गरेर स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने कुरा ६ महिनाभित्रमा गराएरै छाड्ने मन्त्री बस्नेतले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधा सहज ढंगले बिरामीलाई उपलब्ध गराउन निर्देशन दिनुभयो । कतिपय चिकित्सक कर्मचारीले निरन्तर काम गर्ने र कतिपयले कामै नगर्ने गरेको भन्दै उहाँले सबैलाई काम गर्न आग्रह गर्नुभयो । भरतपुर अस्पतालको स्तरोन्नतीका लागि तीनै तहका सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालमा देखिएका समस्याका बारेमा मन्त्रीद्वयलाई जानकारी गराउनु भएको थियो ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले भरतपुर अस्पतालको निरीक्षण गर्नुभएको छ । मन्त्री बस्नेतले बुधबार बिहान अस्पतालको निरीक्षण र नयाँ युनिटहरुको उद्घाटन गर्नुभएको हो ।
मन्त्री बस्नेतले न्यू आईसियी तथा सिसियू र पिआईसियूको उद्घाटन गर्नुभयो । अस्पताल निरीक्षणका क्रममा मन्त्री बस्नेतहरुले बिरामीहरुको गुनासो समेत सुन्नुभयो । उहाँले अस्पतालका सेवा सुविधाबारे विरामीहरुलाई जिज्ञासा समेत राख्नु भएको थियो । मन्त्री बस्नेतसँगै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी हुनुहुन्थ्यो । दुवै मन्त्रीले अस्पतालको निरीक्षण गर्नुभएको हो ।






























