चितवन – नेपालमा प्रथम राष्ट्रपति डा. रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिएका थिए ।
तर तत्कालीन समयमा सरकारले यहाँ मेसिन खरिदका लागि बजेट विनियोजन गरे पनि कामले पूर्णता भने पाउन सकेको थिए । राष्ट्रपति यादवको कार्यकाल पूरा भएको झण्डै १० वर्षपछि भने चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यानर ल्याउनका लागि गृहकार्य सुरु गरेको छ ।
अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा पेट स्क्यान मेसिन जडान गरेर स्वदेशमै सेवा दिने योजनाका साथ काम अघि बढाइएको बताए ।
मानव शरीरमा क्यान्सर रोग पहिचान गर्ने यो उपकरण नेपालका सरकारी अस्पतालमा नभएको भन्दै उनले क्यान्सर रोगको पहिचान गर्नका लागि सरकारले विनियोजन गरेको ८६ करोड रुपैयाँबाट अस्पतालमा पेट स्क्यान गर्ने मेसिन जडान गर्ने बताए ।
उनका अनुसार नेपालका तीन वटा निजी संस्थामा पेट स्क्यान हुने भए पनि उपकरणलाई आवश्यक पर्ने आइसोटोप भारतबाट ल्याउने गरिएको छ । आइसोटोप उत्पादन गर्ने उपकरण साइक्लोट्रोन समेत यही जडान गर्ने अस्पतालको तयारी छ ।
कार्यकारी निर्देशक डा पौडेलले भने ‘हामी आइसोटोप उत्पादन गरेर निजी क्षेत्रलाई बिक्री समेत गर्न सक्छौँ ।’ कोभिडका समयमा जहाज नउड्दा आइसोटोपका अभावमा नेपालका पेटस्क्यान सञ्चालन हुनसकेका थिएनन् ।
पौडेलले पेट स्क्यान गर्ने मेसिन जडानका लागि भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताए । अहिलेको ठूलो भवनको अगाडिपट्टी पेट स्क्यानका लागि भवन बनाउने तयारी गरिएको छ ।
भवनको नसांकनको काम अन्तिम चरणमा पुगेको छ । यसका लागि माटो परीक्षण र वातावरण प्रभाव मूल्याङ्कन (इआइए) को काम अघि बढाइएको डा पौडेलले जानकारी दिए ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार काठमाडौँका दुई ठाउँ र झापाको बिर्तामोडमा निजी क्षेत्रबाट पेटस्क्यान गर्ने मेसिन सञ्चालनमा छन् । यो उपकरणले रोग पत्ता लगाउनका साथै उपचार एवं शल्यक्रियापछि बिरामी शरीरमा क्यान्सर रहे नरहेको समेत पत्ता लगाउन उपयोगी हुने उनको भनाइ छ ।
हाल पेट स्क्यानकै लागि धेरै बिरामी छिमेकी देश भारतलगायतका देशमा जानुपर्ने बाध्यता छ । उपकरण जडान गरेसँगै नेपालका बिरामीले सरकारीस्तरमा स्वदेशमै यो सेवा पाउने उनको भनाइ छ । नेपालमा पेटस्क्यान मेसिन आएसँगै क्यान्सर रोग समयमै पहिचान गरी उपचार गर्न सहज हुनेछ ।





















