फेरिएको छ आजभोलि
अग्रगमनको भाग्य
माक्सवाद ठेली छिचोलेका
विद्वानहरू कै निर्देशनमा
बन्दैछ गाउँको छेउमै गणेश धाम ।
अब धनी हुन गाउँलेले
पर्दैन मरूभूमिमा भौतारिन
सबेरै उठेर धामका ढोकामा
अलाप गरे पुग्छ ।
छलाङ् मार्दै छ समाज
बन्दैछ बस्तीको माझमै
पालनकर्ता विष्णुको मन्दिर ?
मन फुकाएर सहयोग गर्नु
भोका , नाङ्गाहरूले पनि
ख्याल गर , एकपेट कै लागि
दुखै गर्नु पर्दैन भरियाले पनि ।
बुझ्नु देश अग्रगमनतिर जाँदैछ
अनौठौ चमत्कार हुँदैछ
माक्सबादी विद्वानकै नेतृत्वमा ।
गाई मासिएको विलापमा
थाले पुर्खाले गाईकै पूजा
अब भैंसी मासिन लाग्यो त
हुँदैछ भैंसी पूजा ?
किन सशङ्कित हुनु दुनियाँ रु
माक्सवादको नयाँ प्रयोगमा
दलित, उत्पीडित मासिए
पूजा गरौंला तिनको
संरक्षणका लागि।
नबुझ्नु लाल गद्दारका
खेलवाड कसैले
अनि पो हुन्छ फलिफाप
माक्सबादको सान्दर्भिक उपयोगमा
हाम्रै समाजले खाजे जस्तो
रोजे जस्तो हुँदैछ त
सामाजिक विकास र रूपान्तरण ।
लोकतन्त्र छ देशमा
सकेजति मनपरी गर
दमन गर,
भ्रष्ट बन,
दुराचारी बन
आफ्नै हातमा अधिकार
फेरि घर छेउमै बनेको छ देवीथान
पाप पखाल्न टाढा जानै पर्दैन,
हुँदैछ अब ठूलो क्रान्ति
माक्सवाद र आध्यात्मको फिउजनमा
नदी किनारका घाटमा जताततै
बन्दैछन् शिव मन्दिर ।
दिप प्रज्वलन केन्द्र
माक्सवादका ठेली छिचोलेका
विद्वानहरू कै नेतृत्वमा
अँध्यारोमा बस्नै पर्दैन अब
मर्नु पर्दैन अकालका कसैले
भोग,भाग सकिएपछि ख्याल गर ।
सक्दैनन् कसैले बचाउन हस्पिटल गए पनि
यो माक्सवादी फयुजनको निष्कर्ष
हो माक्र्सवादकै नयाँ प्रक्षेपण ?
बन्दैछन् विद्यालयमा सरस्वतीका मन्दिर
विद्वान हुन बालबालिकाले पढ्नै पर्दैन
मन्दिर पस्नेलाई अशिक्षित भन्नै मिल्दैन
माक्सवादी विद्वान छन् घरघरमा
कमाउनिष्टहरूको स्वागतयोग्य कामले
छचल्किदै छ देश अग्रगमनमा
कुरो बुझ्नुपर्छ ती पिंधका मान्छेले
नवधनाढ्य बन्नु छ भने
जिउँदै मरेर पनि
सर्म, कर्म र मर्म पचाएर पनि
दिनभरि, रातभरि मनपरि गर
गणतन्त्र आएको छ देशमा
तर सबेरै उठेर हरि भजन भज ।
नेताहरूलाई सरापेको
पाप पनि पखाल
अब जनताले सोचे जस्तै
हुँदैछ आमूल परिवर्तन बस्तिहरूमा
राखिने छैन कुनै कसर बाँकी
दिग्भ्रमित बनाउने खेलमा ?
सधै अग्रसर छ सरकार
अग्रगमनको मुद्धामा
माक्सवादको नयाँ प्रक्षेपण
दलित,उत्पीडित वर्गको उत्थानमा ।
प्रभा मरहट्टा कोइराला
भरतपुर ,चितवन





















