काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको प्रष्ट पारेका छन् । समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
आफूले सरकारले नेतृत्व गरेको आठ महिना हुन लाग्यो अनि गठबन्धनमा पनि अझै राम्रो हुँदै गइरहेको बताए । साे क्रममा उनले आफुलाई सरकारबाट हट्नुपर्छ भन्ने चिन्ता नरहेकाे बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको पनि बताए ।
उनले राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने समेत बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो ।’





















