काठमाडौं। ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईसँग बयान लिएको छ।
सिआइबीका अधिकारीले आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान लिइएको हो। स्रोतका अनुसार बयानका लागि सिआइबीको टोली नेपाल र भट्टराईको घरमै पुगेको थियो।
पूर्वप्रधानमन्त्री डा भट्टराईले आफूले सिआइबीलाई बयान दिएको बताए। उनले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत ललिता निवास प्रकरणमा आफ्नो संलग्नताबारे सिआइबीलाई बयान दिएको सार्वजनिक गरेका छन्। उनले आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयका सम्बन्धमा विभिन्न प्रश्नहरू उठेपछि सत्यतथ्यबारे सिआइबीलाई जानकारी गराएको बताएका छन्।
‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्य जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम सिआइबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ भट्टराईले लेखेका छन्। उनले ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु’ भनेका छन्।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध साढे चार वर्षअघि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। उक्त मुद्दा पटक पटक पेसीमा चढे पनि सुनुवाइ भने भएको छैन। सर्वोच्च अदालतले साउन २१ गते नेपाल र भट्टराईसँग पनि बयान लिन आदेश दिएको थियो।
ललिता निवासको जग्गालाई लिएर २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले त्यतिखेर मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भनेर नेपाल र भट्टराईलाई अनुसन्धानको दायरामै ल्याएको थिएन।





















