चितवन – लगाताररुपमा वर्षासँगै उर्लिएको नारायणी नदीको कारण कटानबाट भएको क्षतिको स्थलगत अनुगमन गरिएको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्की सहितको टोली भरतपुर वडा २६, २७ र २८ मा नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गरिएको हो ।

सो अवसरमा न्यूरेचोक, तमाङचोक र भगेडी क्षेत्रका स्थानियहरुसँग गुनासोसँगै सुझाव संकलन पनि गरिएको थियो । तत्कालै हुने सम्भावित विपद् न्यूनीकरण र जोमिख नियन्त्रणका लागि जनतासँगै स्थलगत अनुगमन गरेर सुझावसमेत लिएको भरतपुर महानगरकी मेयर रेनु दाहालले बताइन् ।
‘विगतमा रुख काटेर, ढालेर, बोराहरुमा टालेर ढुङ्गा, जाली भर्ने काम जनता आफै राति नसुतेर, काहाली लाग्दो अवस्थामा काम गर्नुपथ्र्यो,’ मेयर दाहालले भनिन्– ‘अहिले सम्बन्धित कार्यालय महानगर आफै अग्रसर भएर गरेको छ ।’ विगत जस्तै जटिल परिस्थित छैन्, ठेक्का भएको एक वर्ष भो, तीन वर्ष सकिँदा समस्याको पूरै हल हुनेछ, तर पनि हामी अत्यन्तै सजग छौँ,’ मेयर रेनु दाहालले अगाडि थपिन् ।

सो अवसरमा मेयर रेनुले स्थानीय समुदायलाई सुरक्षति रहन आग्रह गर्दै नारायणी नदीको बर्सेनि हुने डुबान र कटानको समस्या समाधान गर्न पाँच वर्षको बजेट परी काम भइरहेको बताउँदै छिट्टै काम सकिएर नतिजा देखिने स्पष्ट पारिन् । अनुगमनको क्रममा स्थानीयवासीले जटिल समस्या रहेका बढी पस्ने र डुबान हुने ठाँउमा तत्कालै काम गराउन माग पनि गरेका थिए । मेयर दाहालले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनीकरण गर्न सधँै कटिबद्ध रहेको प्रतिवद्धता जनाएकी थिइन् ।

यस्तै उनले पाँचवटा ब्लक बनाएर काम गरेको भन्दै जनताको सेवामा छिटो र तत्काल उपस्थिति जनाउने गरी संयन्त्र बनाएको पनि जानकारी दिइन् । यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी पौडेलले तत्कालै नदी कटान नियन्त्रण गर्न आवश्यक पर्ने स्रोत साधनलाई तैनाथ अवस्था राखेको बताउँदै ढुक्क हुन आग्रह गरेका थिए ।





















