काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्मका सबै भ्रष्टाचारका ठूला काण्डको फाइल खोल्नुपर्ने बताएका छन्।
संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा उनले जुनसुकै दलको भए पनि दोषी छ भने त्यसले छुट पाउन नहुने बताए।
भ्रष्टाचार काण्डहरूमा संलग्न देखिएमा जुनसुकै पार्टीका भए पनि नेतादेखि सांसद कसैलाई छाड्न नहुने थापाको भनाई छ। ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरू छन्, ती सबैको फाइल खोलौं,’ थापाले भने, ‘अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्।
तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस्, मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन।’
केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीका लडाकु शिविर घोटालाको छानबिन गर्नुपर्ने कुरा उठान गरेको प्रसंग निकाल्दै उनले भने, ‘ललिता निवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो। हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ।
कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? कुनै दलको कुनै नेता अनुसन्धानका क्रममा पक्राउ पर्यो भने ए हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खै ? यस्तै यस्तै सुनिन्छ।’
आफूमाथि छानबिन हुने भएपछि प्रतिक्रियामा अर्को कुनै फाइल खोल्न माग गर्ने गरिएकोमा उनले असन्तुष्टि जनाए। महामन्त्री थापाले आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्न माग गर्ने अवस्था बदल्न आवश्यक रहेको बताए।
उनले भने, ‘यसरी आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नुपर्छ। यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्ड छन्, ती सबैको फाइल खोलौं।’





















