गोरखा – गोरखाको पालुङ्गटार नगरपालिकाले आर्थिक वर्ष २०७९- ०८० को तेस्रो चौमासिकसम्म संचालन भएका योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको छ ।
बिहीबार वडा नम्वर ५ स्थित बनादेबी मन्दिर परिसरमा एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरपालिकाको गत आवको तेश्रो चौमासिकसम्म संचालन भएका योजना, कार्यक्रम तथा सेवाहरुको बारेमा जानकारी गराइएको थियो ।
सहभागीहरुले सम्पन्न भएका केही योजनाहरुको बारेमा प्रश्न एवं जिज्ञासा समेत राखेका थिए । वडा नम्वर ५ का अध्यक्ष दीपक पाण्डेको अध्यक्षता तथा नगर प्रमुख विवश चिन्तनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडाध्यक्षहरु, शाखा प्रमुख, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय लगायतको सहभागीता रहेको थियो ।
सहभागीहरुले कार्यक्रम भव्य र पारदर्शी रुपमा सम्पन्न भएको बताएका थिए ।





















