चितवन – पूर्वी चितवनको कालिका नगरपालिकामा शुक्रबारदेखि पशुहरुमा ‘लम्पी स्किन’विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ ।
‘लम्पी स्किन’ रोगका कारण पशुहरु मर्न थालेपछि नगरपालिकाले आजदेखि प्राविधिकसहितको टोली किसानको गोठमै पुगेर भ्याक्सिन लगाउन सुरु गरिएको हो । वडा नं १ देखि वडा नं ११ सम्मै पुग्ने लक्ष्य लिएर प्राविधिक टोली परिचालन गरिएको कालिका नगरपालिकाको पशु शाखा प्रमुख र्इश्वरीप्रसाद पौडेलले बताए ।
वडा नं १ स्थ्ति थिङ गाई फर्मबाट प्राविधिकहरुले भ्याक्सिन लगाउन सुरु गरेका छन् । त्यसअघि पशु सेवा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी ‘लम्पी स्किन’विरुद्ध खोप अभियानको शुभारम्भ गरिएको थियो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले ‘लम्पी स्किन’विरुद्धको खोप लगाउने कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने जानकारी दिए। पशुहरुको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
‘लम्पी स्किन’सँगै पशुहरुमा लाग्ने नाम्लेजुकालगायतका रोगहरुको औषधिदेखिसहति प्राविधिक टोली परिचालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको नगरप्रमुख रेग्मीले बताए। नगरप्रमुख रेग्मीले किसानहरुको गोठमै पुगेर सेवा दिन प्राविधिकहरुलाई निर्देशन दिए।
किसानहरुले गरेको फोन उठाउन, किसानहरुको समस्या सुनेर सेवा दिन कर्मचारीहरुलाई उनले आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख रेग्मीले नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन आफूहरु लागिपरेको बताए ।
कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष लक्ष्मीनारायण चौलागाईले नगरपालिकाको यो अभियान स्वागतयोग्य रहेको बताए । प्राविधिक टोलीलाई प्रत्येक किसानाहरुको गोठगोठमा लैजान सहकारीले सहयोग गर्ने उनले बताए ।
भेटनेरी अस्पतालले कालिका नगरपालिकालाई नौ सय डोज खोप सहयोग पठाएको छ । नगर क्षेत्रभित्र ८ हजार भन्दा बढी ठूला पशुहरु छन् ।
सहयोगस्वरुप प्राप्त खोप अपुग हुने भएपछि नगरपालिका आफैले थप ६ हजार खोप व्यवस्थापन गरेको छ । कुनैपनि पशु खोप लगाउनबाट नछुटोस् भनेर अभियानकै रुपमा भ्याक्सिन बोकेर प्राविधिक परिचालन गरिएको कालिका नगरपालिकाको उपप्रमुख विमला तमाङले जानकारी दिइन् ।
आर्थिक समिति संयोजक दीपक सिंह परियारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष टीकाराम रेग्मी, कार्यपालिका सदस्यहरु, सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





















