काठमाण्डौ / सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको अहिलेको बहस पदको विषयमा नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टी एकता अझै माथिल्लो स्तरमा सुदृढ गर्नु पर्ने बताएका छन् ।
नेकपाका पुराना नेता तुल्सीलाल अमात्यको स्मृति सभालाई सम्बोधन गर्दै शनिबार बिहान ललितपुरमा अध्यक्ष प्रचण्डले भने आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ, त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं ।
प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पछिल्लो एक महिनादेखि सत्तारुढ नेकपाभित्रको टकराव उत्कर्षमा पुगेको छ । स्थायी समिति बैठकसमेत पटक पटक स्थगित गर्दै आएका नेताहरू सहमति खोज्ने अन्तिम कसरत गरिरहेका बेला प्रचण्डले एकतामै जोड दिएका हुन् ।
नेपालमा दशकौंदेखि बोलचाल नभएका कम्युनिस्ट समूहहरू दश दिनभित्र नै एकै ठाउँ बस्ने अवस्था आएको भन्दै त्यो एकताले ठूलो राजनीतिक छलाङ ल्याएको प्रचण्डले बताए । त्यो एकताले गर्दा नै हामी अत्याधिक बहुमत सहित सरकारको नेतृत्व गर्ने ठाउँमा आइपुग्यौं, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपाल एउटा मोडल बनेको छ प्रचण्डले थपे ।
एकता गरेको तीन वर्ष पुग्दा नपुग्दै फेरि पार्टी र जनताको भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको बताउँदै प्रचण्डले अन्तरद्वन्द्व अस्वस्थ बन्दै गएको स्वीकार गरे ।
हामी कम्युनिस्ट जालझेल, छलकपट अपनाउन सक्दैनौं, त्यसैले हाम्रो संघर्ष तिखो हुन्छ प्रचण्डले भने एकता बचाउने क्रममा विभिन्न एजेण्डा र प्रवृतिको फछ्र्योट पनि हुनुपर्छ । तुल्सीलालको स्मरण गर्दै उनले पुराना पिँढीका नेताहरू जालसाजीभन्दा पनि आफ्ना कुरा सिधा सिधा राख्ने नेता भएको बताए ।
अहिलेको बहस पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने हो प्रचण्डले भने राजनीतिक स्थिरता र एकताका निम्ति हामीले पद त्याग गर्दै नै आएका छौं । अहिले पार्टी एकताको रक्षा गर्दै यसलाई कसरी राम्रोसँग अगाडि बढाउने भन्ने हिसावले हाम्रो बहस अगाडि बढेको छ ।





















